सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा ६५४ कोरोना संक्रमणमुक्त, अझै १७७ जना आइसोलेसनमा

बाँके । बाँकेमा एक महिनाअघि सङ्क्रमित बढ्ने क्रम तीव्र भएकोमा हाल आएर निको भएर घर फर्किने क्रम बढेको छ । जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा रहेका २६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर मङ्गलबार घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मङ्गलबार सात महिला र १९ पुरुष गरी जम्मा २६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । उनले यसरी घर फर्किनेहरूमा २१ जना नेपालगन्जस्थित होटल सिटी प्यालेसको आइसोलेसनमा रहेका र पाँच जना खुला कारागार आइसोलेसनमा बसेकाहरू रहेको बताए ।

फोकल पर्सन श्रेष्ठले एक महिनाअघि समुदायमा सङ्क्रमण फैलिएपछि जनस्तरमा बढेको त्रास अहिले आएर निको हुनेहरू बढ्दै गएकोले कम भएको बताए । पछिल्लो समयमा नेपालगन्जमा सङ्क्रमितहरू फेला पर्ने क्रम कम हुँदै गएको र कोहलपुर क्षेत्र हटस्पट बन्दै गएपछि कोहलपुरमा गत दश दिनदेखि निषेधाज्ञा जारी गरिएको छ ।

यसैबीच नेपालगन्जस्थित भेरी अस्पतालका दुई जना वरिष्ठ चिकित्सकमा सङ्क्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोना सङ्क्रमितको उपचारमा निरन्तर खटिएका वरिष्ठ चिकित्सकहरू डा. सङ्केतकुमार रिसाल र डा. राजन पाण्डेलाई सङ्क्रमण पुष्टि भएको हो । मङ्गलबारसम्म बाहिरी जिल्लाका केहीसमेत गरेर बाँकेमा ८३५ जनालाई कोरोना सङ्क्रमण देखिएकोमा ६५४ जना सङ्क्रमणमुक्त भई घर फर्किसकेका छन् ।

हालसम्म जिल्लामा चार जनाको मृत्यु भइसकेको छ भने अझै विभिन्न आइसोलेसन सेन्टरमा १७७ जनाको उपचार भइरहेको छ । समुदायस्तरमा सङ्क्रमण फैलिन थालेपछि कोभिड १९ सङ्कट व्यवस्थापन समिति बाँकेले नेपालगन्ज, कोहलपुर, खजुरा र राँझामा मास्क लगाउन तथा भौतिक दुरी कायम राख्न कडाइ गर्दैआएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार बजारमा भिडभाड कम गर्न सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ भने स्वास्थ्य सुरक्षा नअपनाउने व्यवसायीलाई जरिवाना र पसलमा तालाबन्दी गर्न थालिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १३:४५