सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरी अस्पतालका ‘फ्रन्टलाइनर’ डाक्टरलाई कोरोना

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ । अस्पतालका बरिष्ठ फिजिसियन डा.राजन पाण्डे र कोरोनाका फोकल पर्सन डा. संकेत रिसाललाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् । दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जनाएका छन् ।

भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जनाले बाँकेमा कोरोना बिरुद्धको अभियानमा रणनीति बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यी दुवै डाक्टर कोरोनाविरुद्धको अभियान र उपचारमा प्रत्यक्ष संलग्न रहँदै आएका थिए । अस्पतालका फोकलपर्सन डा. रिसाललाई हिजो नै कोरोना पुष्टि भएको थियो भने डा. पाण्डेको आज कोरोना पुष्टि भएको छ ।

डा.पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिनँ । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । स्वास्थ्य लाभपछि प्लाज्मा डोनेट गर्नेछु ।’ यसअघि नेपालगन्ज मेडिकल कलेजका केही डाक्टरलाई पनि कोरोना संक्रमण भएको छ ।

संक्रमित भएका धेरैजसो निको भएर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोनाको उपचारमा प्रत्यक्ष खटिएका डाक्टरलाई कोरोना देखिन थालेको बताए । बाँकेमा अहिलेसम्म ८३५ जनालाई कोरोना संक्रमण भइसकेको छ । ६५४ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १३:१९