सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोभिड–१९ रोकथाम, मिलेरै महामारी परास्त

फाइल तस्वीर

बाँके । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव मुलुकमा पर्न नदिन बाँकेवासीले सरकारले जारी गरेको सामाजिक नियम पालना गरेको पाइन्छ । यदाकदा कसैले नियम उल्लङ्घन गरेको अवस्थामा जरिवानासहित कारवाहीको दायरामा ल्याउने गरिएको छ ।

बाँकेलाई अहिले लकडाउन खुकलो पारिएको छ । निषेधाज्ञाको अवस्था पनि छैन । स्थानीय प्रशासनले जारी गरेको पालना गर्नुपर्ने सामाजिक दूरीका नियम बाँकेवासीले पालना गरेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको भनाइ छ ।

‘महामारीविरुद्धको यो लडाइँ हाम्रै लागि हो, सबैजना मिलेर यसको पालना गरेर नै यो महामारीलाई परास्त गर्न सकिन्छ,’ नेपालगन्जका प्रतिष्ठित व्यापारी नन्दलाल वैश्यले भने । धार्मिक, साम्प्रदायिक र जातीय सद्भावको यो जिल्लाका हिन्दू, मुस्लिम, सिख तथा इसाई धर्मका गुरुहरुसमेत बन्दाबन्दीले अप्ठेरोमा परेका नेपाली जनताको आँसु पुछ्न सहयोगी हात लिएर नेपाली जनताको घरदैलोमा पुग्ने गरेका छन् ।

नेपालगन्जका मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी भन्छन्, ‘यो कुनै धर्म, जात, समुदायसँग मात्र जोडिएको लडाइँ होइन, यो त मानव सभ्यतामाथिकै प्रहार हो । कोरोनालाई परास्त गर्नु नै हाम्रो एकमात्र उद्देश्य बन्नुपर्छ ।’ धर्मगुरु मञ्जरीले भनेजस्तै कोरोना भाइरसका कारण आइपरेको जटिल परिस्थितिमा बाँकेमा सामाजिक सहिष्णुता र सद्भावका साथ अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले विभिन्न मानवीय गतिविधिहरु पनि सञ्चालन गरिरहेको छ ।

मञ्चका अध्यक्ष बागेश्वरी मन्दिर नेपालगन्जका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मञ्जरी, सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह र इसाई धर्मगुरु बेञ्जामिन श्रेष्ठले कोरोना भाइरसले सिर्जना गरेको जटिल परिस्थितिमा सामाजिक र धार्मिक सद्भावका लागि सधैँ क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाउनुमात्र भएको छैन आआप्mनो समुदायमा सचेतनाका अभियान नै शुरु गरेका छन् ।

बाँकेमा कोरोनाको प्रवेशलाई निस्तेज पार्न यहाँका प्रहरीहरुको कर्म पनि उदाहरणीय बनेको छ । दैनिक १२ घण्टा कर्म क्षेत्रमा खटिने प्रहरीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूलाई एकपाइला भए पनि अगाडि राखेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना भन्छन्, ‘मुलुक र मुलुकवासीको सुरक्षा नै नेपाल प्रहरीको पहिलो प्राथमिकता हो ।’

उनका अनुसार बाँकेमा एक हजारभन्दा बढी प्रहरी र त्यही अनुपातमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाँकेका नागरिक अभियानकर्मी, अधिकारकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्धको लडाइँमा कम्मर कसेरै लागेको पाइन्छ । प्रजिअ कुरुम्वाङ भन्छन्, ‘सरकारको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन, सामूहिक मोर्चाबाटै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने भएकाले सबैलाई सँगै लिएर हिँड्नैपर्छ ।’

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०८:०८