सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा/अपराध

भारतीय नातिलाई छोरा बनाएर नागरिकता !

नरैनापुर गाउँपालिका–६ गंगापुरका इमाम दर्जी पक्राउ

बाँके । झुठो विवरण पेस गरी नातिको नागरिकता बनाउन सहयोग गर्ने नरैनापुर गाउँपालिका–६ गंगापुरका इमाम दर्जी पक्राउ परेका छन् । छोरोको नाममा छोरीका छोरा (नाति)को फोटो टाँसेर नागरिकता बनाएको उजुरीका आधारमा दर्जीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख रामकुमार सोनखरले जानकारी दिए ।

दर्जीले छोराका नाममा नागरिकता बनाउन भनी वडा कार्यालयबाट सिफारिस लिएर नातिको नाममा नागरिकता बनाएका नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष वीरेन्द्रपाल सिंहले बताए । वडा कार्यालयलाई दर्जीले झुक्याएको उनले बताए । दर्जीकी छोरीको भारतमा विवाह भएको थियो । दर्जीकी छोरी २०५५ सालदेखि माइतीमै बस्दै आएकी छन् । उनले साविकको गंगापुर गाविसमा नातिको जन्मदर्तासमेत गराइसकेका छन् ।

‘तत्कालीन गाविस सचिवको मिलेमतोमा दर्जीले २०५८ सालमा नातिको जन्मदर्ता गराएको देखिन्छ,’ अध्यक्ष सिंहले भने । उनले वडामा बस्ने सबैको नाम थाहा नहुने र व्यक्तिलाई चिन्न नसकिने बताउँदै मान्छे नचिनेर सिफारिस दिँदा गल्ती भएको स्विकार गरे । ‘दर्जीले छोराको नाममा नातिको फोटो टाँस्लान् भन्ने सोचेका पनि थिएनौँ,’ उनले भने, ‘वडाबासीको विश्वास गर्दा धोका पाइयो ।’

इलाका प्रशासन कार्यालय, नरैनापुरका प्रमुख सोनखरले सबै प्रक्रिया पूरा भएर आएकाले वडा कार्यालयको सिफारिस अनुसार दर्जीका नातिलाई नागरिकता दिएको बताए । ‘वडा कार्यालयले पहिले नै छानबिन गरी सिफारिस दिनुपथ्र्यो । कागजात पूरा भएको भए हामीले नागरिकता दिनैपर्छ । दिएनौँ भने प्रक्रिया पूरा हुँदाहुँदै पनि दिएन भन्ने हुन्छ,’ उनले भने, ‘झुठो विवरण पेस गरेर नागरिकता बनाउन सहयोग गर्ने इमामलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’

नागरिकता जफत

दर्जीले १६ साउनमा वडा कार्यालयबाट नागरिकताको सिफारिस लिए । तर, लकडाउनका कारण उनी नेपालगन्ज आउन सकेनन् । उनका नातिले इलाका प्रशासन कार्यालयबाट १ भदौमा नेपाली नागरिकताको प्रमाणपत्र लिए । भारत घर भएका व्यक्तिले नागरिकता लिएको गाउँघरमा हल्ला फैलियो । बुझ्दै जाँदा इमामले आफ्नो छोरोको नाममा छोरीको छोराको फोटो टाँसेर झुठो विवरण पेस गरेर नागरिकता लिएको खुलासा भयो ।

झुठो विवरण पेस गरेर भारतीयले नागरिकता लिएको र गैरनेपालीलाई नागरिकता दिलाउन वडा कार्यालयले सिफारिस दिएको भन्दै इलाका प्रशासन कार्यालयमा उजुरी पर्यो । उजुरीलगत्तै इलाका प्रशासन कार्यालयले चासो देखायो । प्रहरीलाई खबर गरी पक्राउ गर्न आदेश दियो । प्रहरीको सहायतामा प्रशासनले ५ भदौमा नागरिकता जफत गर्यो । झुठो विवरण पेस गरेर नागरिकता बनाउन सहयोग गर्ने इमाम दर्जीलाई पक्राउ पनि गर्यो उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यस्तै गैरनेपालीलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष वीरेन्द्रपाल र वडासचिवलाई बयानका लागि बोलाइएको छ । ‘गैरनेपालीको जन्मदर्ता बनाउने साविक गंगापुर गाविसका सचिव पनि यो मुद्दामा तानिने देखिन्छ,’ इलाका प्रशासन कार्यालयका प्रमुख सोनखरले भने, ‘सबैसँग बयान लिने तयारी भइरहेको छ ।’ झुठो विवरण पेस गरेर नागरिकता लिने व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ०७:३५