सूचनाको शक्ति - The Power Of Information

        

रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना

बाँके । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका जमुनहा, गायत्रीनगर सुकुम्वासी बस्ती, कोहलपुर नगरपालिकाको शम्शेरगन्ज, अकलघरुवा लगायत स्थानका नागरिकलाई खाना खुवाइएको छ । कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालिएको कोइरालाको भनाइ छ ।

गत असार १६ गतेदेखि शुरु भएको खाना खुवाउने अभियानअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका–१२ का बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक र नयाँबस्ती, वडा नं १३ का घसियारनटोल, मसानघाट र बुलबुलिया, वडा नं १९ को आलानगर र मोहनपुर, वडा नं. २० का गायत्रीनगर तथा वडा नं. ९ का खट्कनपूर्वाका गरिब तथा निमुखा परिवारलाई खाना वितरण गरिएको प्रमुख कोइरालाले जानकारी दिए ।

यस्तै नेपालगन्ज क्वारेन्टिनमा बस्ने तथा नीलसागर वृद्धाश्रममा रहेका असहाय र अशक्त व्यक्तिलाई पनि अभियानमा समेटिएको उनले बताए । विद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भए पनि सहयोग पुर्याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताए ।

‘गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर वडा कार्यालयको प्रत्यक्ष निगरानीमा आवश्यकताका आधारमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘वडा कार्यालयले उपलब्ध गराउने आधिकारिक तथ्याङ्कअनुसारका मानिस र वास्तविक पीडित परिवारलाई खाना खुवाउने गरिएको छ ।’

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले माइती नेपालले सञ्चालन गरेको खाना खुवाउने अभियान प्रशंसनीय रहेको बताए । काम गरी खाने मजदूरले काम गर्न नपाइरहेको अहिलेको विषम परिस्थितिमा घरघरमै पुगेर तयारी खाना वितरण हुँदा नागरिक खुशी भएको उनको भनाइ छ ।

नेपालगन्ज–२० का वडाध्यक्ष कृष्ण कार्कीले माइती नेपालले गायत्रीनगरस्थित सुकुम्बासी टोलमा पाँच दिनसम्म तयारी खाना खुवाएर उदाहरणीय काम गरेको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएका गायत्रीनगरका करीब ३०० जनालाई पाँच दिनसम्म वडा कार्यालयसँगको समन्वयमा खाना खुवाउँदा स्थानीयवासी हर्षित भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १५:०९