सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नजिकिँदै काँग्रेस महाधिवेशन, ‘खड्काको मौनता, फेरि महामन्त्री बन्ने दाउ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वमा पुग्न नेताहरुले दौडधुप सुरु गरेका छन् । नेताहरुले सभापतिका लागि उम्मेद्वारी घोषणा गर्न थालेका छन् । केही समयअघि सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने उपसभापति बिमलेन्द्र निधिले आफू सभापतिको दाबेदार भएको उल्लेख गर्दै सहयोगका लागि सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए ।

तर सभापति देउवा र वरिष्ठ नेता पौडेल आफैं सभापति पदका आकांक्षी हुन् । वर्तमान सभापति शेरबहादुर देउवा समूहमा देउवालाई चुनौती दिने नेताहरु खासै छैनन् । तर संस्थापन इतर पक्षमा भने सभापतिका आकांक्षी धेरै छन् । पौडेल आफैं सभापतिका आकांक्षी हुन् भने महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेताका नेताले सभापतिमा दाबी गरिरहेका छन् ।

समकालीन सबै नेताले आगामी महाधिवेशन केन्द्रित गतिविधि सुरु गर्दा वर्तमान महामन्त्री पूर्णबहादुर खड्का भने मौन छन् । उनले खुलेर कुनै समूहको पक्षमा पनि अभिव्यक्ति दिएका छैनन् । १३ औं महाधिवेशनमा सभापति देउवा समूहका देखिएका खड्का यसअघि पूर्व महामन्त्री खुमबहादुर खड्का पक्षधर नेता हुन् । खुमबहादुर खड्काको निधन भएपछि महामन्त्री खड्कासहितका नेताले सभापति देउवालाई समूहलाई समर्थन गर्दै आएका छन् । तर उनले अन्य नेताजस्तो खुलेर कुनै पनि समूहको समर्थन गरेका छैनन् ।

‘उहाँले दुवै समूहलाई समदूरीमा राखेर व्यवहार गर्नुभएको छ,’ महामन्त्री खड्का निकट मानिने एक केन्द्रीय सदस्यले भने, ‘१४ औं महाधिवेशनमा कुन पक्षको पल्लाभारी हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा कुनै एक पक्षलाई च्याप्दा अप्ठेरो परिस्थिति आउन सक्छ ।’ स्वभावतः महामन्त्री खड्का धेरै बोल्ने नेता होइनन् । उनी सकेसम्म कम बोल्छन् र विवादमा पनि पर्दैनन् । तर महाधिवेशनको मिति नजिकिँदै गर्दा खड्का फेरि महामन्त्री बन्ने दाउमा छन् । त्यसका लागि उनले पर्ख र हेरको नीति लिएको उनी निकट नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १४:५५