सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना उपचार केन्द्रमा ‘फालिएका बेड मर्मत’

बाँके । भेरी अस्पतालमा कोरोना उपचार केन्द्रका लागि पूर्वाधार निर्माण गर्न रकम अभाव भएको छ । रकम अभावका कारण सामान खरिद गर्न नसकेपछि फालिएका पुराना बेड मर्मत, सम्भार गर्न थालिएको छ ।

खिया लागेर काम नलाग्ने भएपछि अस्पतालको विभिन्न वार्डबाट निकालिएका पुराना बेड मर्मत, सम्भार गरी प्रयोगमा ल्याउन रंगरोगन लगाउने र टुटफुट मर्मत गर्ने काम भइरहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । अस्पतालको खाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोका गरेपछि रकम अभाव भएको अध्यक्ष धितालको भनाइ छ ।

‘खरिद गरौँ भने खाता सिल छ । पैँसा खोजेर किनौँ भन्ने हो भने ढिला भइसक्यो,’ उनले भने, ‘त्यसैले काम चलाउन पुराना बेडमा रंगरोगन लगाउने काम भइरहेको छ ।’ उनले रकम नभएपछि आवश्यक पूर्वाधार निर्माणका लागि समुदायस्तरबाट रकम माग गरिएको बताए । यस विषम परिस्थितिमा सरकारको मुख ताक्नुभन्दा समुदायस्तरबाट रकम जुटाउन सजिलो भएकाले सबैसँग अपील गरिएको उनको भनाइ छ ।

कोभिड क्राइसिस मेनेजमेन्ट सेन्टरका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पताल निर्माणका लागि रकम आवश्यक परेकाले समुदायस्तरबाट रकम जुटाउन थालेको बताए । अस्पतालमा नयाँ पूर्वाधार निर्माणका लागि एक रुपैयाँ पनि नभएको उनको भनाइ छ । अख्तियारले अस्पतालको खाता सिल गरेकाले पनि रकम अभाव भएको उनले बताए ।

उनले भने, ‘यस्तो बेला कुनै आपत आइलागे रकम अभाव हुन नदिन समुदायस्तरबाट सहयोगको अपील गरेका छौँ ।’ बाँकेमा कार्यरत राष्ट्रसेवक कर्मचारीले एक दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेको प्रजिअ कुरुम्बाङले बताए । भेरी अस्पतालमा कोभिड अस्पताल निर्माणका लागि नेपाल राष्ट्र बैंक, नेपालगन्जमा कार्यरत कर्मचारीले २० हजार रुपैयाँ संकलन गरी हस्तान्तरण गरेका छन् ।

कोभिड अस्पताल निर्माणका लागि अस्पतालका चिकित्सक र कर्मचारीहरु खटिएका छन्। भौतिक पूर्वाधारका लागि अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा.श्यामसुन्दर यादवको संयोजकत्वमा ब्यवस्थापन समिति गठन भएको छ । उक्त समितिले एक साताभित्र कोरोना अस्पताल निर्माण पूरा गरी सञ्चालनमा ल्याउने योजना बनाएको डा. यादवले बताए । कम्तीमा ५० शय्या तयार गरी सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।

‘कम्तीमा आठवटा भेन्टिलेटर, आइसियु तयार गरेपछि मात्र सन्तोषको सास फेर्न सकिन्छ,’ डा. यादवले भने, ‘हामीलाई पैसाभन्दा सामान आवश्यक छ ।’ कोरोना संक्रमण भई जटिल स्वास्थ्य समस्या भएका बिरामीको उपचारका लागि कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंग शाह प्लाज्मा थेरापीको विज्ञका रुपमा नियुक्त भइसकेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १२:३३