एजेन्सी । चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ । चीनको कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन् ।
चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको उनले बताए । ‘उच्च खतरा भएका मानिस जस्तै : स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने ।
उनका अनुसार आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हो । यस्तै चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन् ।
‘खोप सुरक्षाका हिसाबले ग्यारेन्टी गर्नयोग्य छ तरर यसको प्रभावकारिताबारे गम्भीर अध्ययन भइरहेको छ,’ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले भनेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ६ वटा खोप तेस्रो चरणको परीक्षणका लागि तयार भएका छन्, तीमध्ये तीन वटा खोप चीनले विकास गरेको हो । एजेन्सी
सत्यपाटी ।