सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणपछि आइसोलेशन सेन्टरमा राखिएका थुनुवा फरार

बाँके । कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ । खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन् ।

बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो । भदौ ५ गते आइसोलेशन सेन्टरमा पठाइएका थुनुवा आइतबार भागेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइसोलेशनमा पठाइएका थुनुवा भागेको र खोजी भइरहेको बताए । थुनुवा भागेपछि एसपी रानाले आइसोलेशनको ड्युटीमा रहेका पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानेका छन् । उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ ।

एसपी रानाले भने, ‘राम्रो गर्ने प्रहरीलाई पुरस्कृत गर्छु । गल्ती गर्नेलाई कारबाही गर्छु ।’ कृषि तालिम केन्द्रको आइसोलेशनमा असईको कमाण्डमा पाँच प्रहरी खटिएका थिए । फरार थुनुवालाई खोज्नका लागि टोली परिचालन गरिएको छ । थुनुवा नेपालगन्जकै हुन् ।

यसैबीच, कोरोना भाइरसको संक्रमण देखिएपछि कोहलपुरबाट अर्का एकजना भागेका छन् । उनी सम्पर्कमा आएका छैनन् । भारतबाट काम गर्न कोहलपुर आएका व्यक्ति कोरोना देखिएपछि सम्पर्कबिहीन भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । ती व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ११:०२