सूचनाको शक्ति - The Power Of Information

        

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । सरकारले स्वदेश फीर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए ।

नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यावहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

संघले सरकारले ससर्त खुला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यावहारिक र व्यवस्थित गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ ।

विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ०९:३७