मानवता कसरी हराउन पुग्यो सोधौं न आफै सित ।
उत्तर पाउन भो कठिन यदि भने लाऔं न आजै मित ।।
पृथ्वी कै जयकारका अधिपति भन्छु म ता उनकन ।
राजा राज्य थियो बझाङ भरमा जिते सबैको मन ।।
पुर्खा हुन अझ यस विधानका जनक हुन उत्कृष्ट हुन मानव ।
लेख्छन मानवता बदल्नु पशुता हुन्नौं अनि दानव ।।
विक्रम् संवत् ७ भाद्र १९३४ तदनुसार २३ अगष्ट १८७७ मा पिता विक्रमबहादुर सिंह तथा माता रुद्रकुमारी देविका कोखबाट यस धर्तिमा अवतरण गर्नुभएका महान मानव राजा जयपृथ्वी बहादुर सिंह बझाङ जिल्ला, नेपाल तथा विश्वकै इतिहासमा विरलै जन्म लिने ब्यक्तिका रुपमा पर्नुहुन्छ । विश्व मानव समुदायको विचमा एउटा उज्वल नक्षत्र अझ भनौं दानवतारुपी अन्धकारलाई मानवतारुपी उज्यालोमा परिणत गर्ने एक महान मानवको अवतरण भएको आजको पुण्य दिनमा सर्वप्रथम जयपृथ्वीबहादुर सिंहको कार्यप्रति नमस्तक हुुँदै नमन गर्नु तथा उहाँको विचार जनसमक्ष प्रचारप्रसार गर्नु अतिनै जरुरी भैसकेको छ ।
नेपालको इतिहासमा एउटा यस्तो मान्छे, जसले हाम्रो देशमा अनेकौ ऐतिहासिक सुधारात्मक परिवर्तन मात्र गर्नु भएन अपितु विश्व समुदायमा मानवता, मानवतावाद, विश्वशान्ति, विश्वबन्धुवत्वको विषयमा स्वविचार प्रस्तुत गरेर एउटा उत्कृष्ट कामको थालनी गरेको कुरा हामी कसैबाट छिपेको छैन । तत्व प्रशंसा, शिक्षादर्पण, ह्युमानिजम, अक्षरांक शिक्षा, प्राकृत व्याकरण, श्रेष्ता दर्पण, तत्व प्रशंसा आदि पुस्तक लेखन, छापाखानाको सुरुवात, पाठशाला, उद्योग व्यवसाय, पत्रकारिता, आयुर्वेद अस्पताल स्थापना लगाएत दर्जनौ सामाजिक उन्नति एवंम समाज सुधारका कामहरु गर्ने सच्चा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह एक सपुत विश्व मानवमा दर्ज हुने ब्यक्ति हुनुहन्छ ।
निरंकुश राणा शाहीसँग पौठेजोरी खेल्दै अझ उनीहरुसँगको सम्बन्धका साङ्लाहरु समेत भत्काएर नेपालको इतिहासमा सबैभन्दा उत्कृष्ट काम गर्दै आफ्ना विचार, दर्शन सुधारका उदारणीय कार्यहरु विश्व समुदाय माझ पुर्याउनका लागि विश्वयुद्धजस्तो भयावह स्थितिमा पनि विश्व भ्रमण गरी मान्छेले मान्छेलाई मान्छेको जस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नसक्नु चानचुने काम थिएन । पशुताबाट मानवतामा जाने प्रकृया नै मानवतावाद Humanism हो भनि शंखघोष गर्ने जयपृथ्वी साँच्चिकै जयजयकारका अधिकारी एवं मानव कल्याणमा समर्पित एक उत्कृष्ट मानवमा गणना गर्न मिल्ने ब्यक्तित्व हुनुहुन्छ ।
विश्व विश्वयुद्धको भुमरिमा रुमलिरहेको बेलामा राजनीति, धर्म, सम्प्रदाय आदि भन्दामाथि मानवता हुन्छ भन्ने दर्शन र विचार निकालेर तत्कालीन विश्व समुदायलाइ वशुदैव कुटुम्वकमको उत्कृष्ट नमुनाका रुपमा Humanism लाई सम्प्रेषण गर्दै मानवतावाद नै विश्वशान्ति र समृद्धिको मार्गदर्शक सिदान्त हो र यसबाट मात्रै वैमनश्यता, वैरभावजस्ता मानव मात्रका शत्रुलाइ प्ररास्त गर्न सकिन्छ भन्ने सर्वोत्कृष्ट कार्य गर्ने अन्तर्राष्ट्रिय विभुति हुन् राजा जयपृथ्वी बहादुर सिंह । यस्ता विश्व महामानवलाई राष्टिय विभुति सम्म घोषणा गर्न नसक्नु नेपाल र नेपालीकै लागी विडम्वनाको कुरा बाहेक के हुनसक्छ, संसारकै इतिहासमा यस्ता उत्कृष्ट राजा विरलै भेटिन्छन् ।
विश्व समुदायको हितार्थ आफ्नो राजगदी, सुख, सयल सम्पूर्ण कुरा त्याग गर्न सक्ने गौतम बुद्ध जस्तै एउटा विश्व तारा Light या The World हुन राजा जयपृथ्वीभन्दा अयुक्ति नहोला । द ह्युम्यनिष्टजस्तो विश्व प्रसिद्ध पत्रिका, पुस्तक लेखन, प्रकाशन लगायत विश्वका अधिकांश देशहरुमा गएर युद्धको विकराल अवस्थामा मानवताका विषयमा व्यख्या गर्दै आफ्नो विचार प्रवाह गर्ने यस्ता महामानवलाई आजको दिनमात्र होइन हरेकदिन स्मरण गर्दै उहाँको विचारमा अगाडि बढ्ने हो भने विश्व शान्ति र समृद्र्धिको बाटो अवश्य पहिल्याउन सकिन्छ र गन्तब्यमा पुगिने अवस्यम्भावी छ ।
आफुलाय देश छोड्न बाध्य पार्ने ब्यक्तित्वहरुसँत वैमनष्यता नगरी विश्वकल्याण खातिर अनेकौं यातना सहनसमेत तयार भएर अमुक धर्म, अमुक राजनीतिक सिद्धान्त, अमुक समुदायको पक्षपोषण नगरी समग्र मानव जातिको अझ समग्र जगतकै कल्याणका निमित आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गर्ने बझाङका सपुत मानवतावादी राजा जयपृथ्वीले दिएको मार्ग दर्शनमा हिड्ने हो भने आजको विश्वमा भइरहेको मारकाट, वैमनष्यता, सम्पतिको होडबाजी, सत्ताको लुछाचुडी, साम्प्रदायिक भडकाव, थिचोमिचो एवं उचनीच, धनि गरिब आदिको भेदभाव पूर्णरुपमा अन्त्य भई ‘सर्बे भवन्तु सुखिनाः सर्बे सन्तु निरामयाः सर्बे भद्राणी पश्च्यन्तु मा कश्चित दुःख भाग भवेत’ भन्ने समानताको वातावरण तयार हुनेमा दुइमत नहोला ।
गोकुलराज जोशी ‘ठिङाल’ ।