उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा र आवागमन बन्द भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले भदौ १० गतेसम्म लागू हुनेगरी कडा निषेधाज्ञा जारी गरेका छन् । उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि बन्देजको निर्णय भएको हो ।
बुधबारको तथ्यांक अनुसार काठमाडौंमा १ हजार ७ सय ८९, ललितपुरमा ३ सय ५ र भक्तपुरमा ५७ जना सक्रिय संक्रमित छन् । यसअघि ४ महिनापछि लकडाउन खुल्ला गरिएको थियो । पुनः निषेधाज्ञा गर्नुपर्ने कारण र राजधानीको जोखिमको अवस्थाबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग गरिएको कुराकानी :
उपत्यकामा फेरि पहिलेकै जस्तो लकडाउन गर्ने निर्णयमा कसरी पुग्नुभयो ?
उपत्यकामा संक्रमण बढेको छ । संक्रमण बढ्नु भनेको हामी सबैका लागि जोखिम हो । यसलाई जसरी पनि घटाउनुपर्छ भन्ने कुरा आयो । नागरिकस्तरबाटै पनि छिटोभन्दा छिटो यो आवागमनलाई नियन्त्रण गर्नु पर्छ भन्ने माग भयो ।
सुरुमा हामीले सेवाको मोडालिटीलाई परिवर्तन गरेर भीडभाडलाई कम गर्ने कोसिस ग¥यौं, त्यसले भएन । त्यसपछि हामीले दिन बिराएर सेवा सुरु गर्यौं, त्यसले पनि भएन । त्यसपछि सेवा नै स्थगित ग¥यौं, त्यसपछि पनि भीडभाड कम भएन । त्यसपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेध गर्ने भनेर आदेश जारी गर्यौं, स्थानीय प्रशासन ऐन २०२८ अनुसार । त्यो पनि त्यति प्रभावकारी भएन ।
कोरोना संक्रमण बढ्दै गयो । मान्छे बाहिर निस्कन छाडेनन् । अन्य जिल्लाका सवारी पास यथावत रह्यो । मान्छे काठमाडौं आइरहे । त्यसपछि अबचाहिँ केही न केही स्टेप नलिई हुँदैन भनेर हामीले कोरोना संकट व्यवस्थापन जिल्ला समितिको बैठक राख्यौं । त्यो बैठकबाट अब उपत्यकालाई बचाउने हो भने सिल गर्नुपर्छ, निषेधाज्ञा जारी गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ । त्यहीअनुसार माथि सिफारिस गर्यौं ।
सिफारिस गरिसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट संक्रामक रोग नियन्त्रण अन्तरगत स्थानीय प्रशासन ऐन २०२८ को प्रयोग गर्ने गरी भनेर हामीलाई अधिकार प्रत्यायोजन भयो । हामीले हिजो मात्र तीन जिल्लाको संयुक्त सुरक्षा बैठक बसेर १७ बुँदे निषेधाज्ञा जारी गरेका छौँ । त्यो आदेश कडा खालको छ, जबरजस्ती पनि कार्यान्वयन गराउने खालको छ ।
त्यो आदेशको उल्लंघन भएमा कारबाही हुने व्यवस्था कानुनमा छ । अनुरोध गर्दागर्दा पनि भएन । कानुन कार्यान्वयन फितलो भएको गुनासो समुदायबाटै आयो । मानिसहरुले मास्क लगाएनन्, स्यानिटाइजरको प्रयोग गरेनन्, जथाभावी हिँडे । त्यसकारण अब यसरी हुँदैन भनेर १७ बुँदे आदेश जारी गरेका छौं । कानुनको कार्यान्वयन मा कडा हुनुपर्छ भनेर यो आदेश जारी गरेका हौं ।
एकाथरी मान्छेले कोरोनाबाट बच्ने अबको विकल्प लकडाउन होइन भनिरहेका छन् । तर तपाईंहरुले त्यही गर्नुभयो नि, किन ?
अहिले कोरोनाको जुन लक्षण देखिन्छ । यसको व्यवस्थापन, खर्चको पाटो, बच्ने उपाय यो बारेमा ५ महिनादेखि सरकारले सबैलाई जानकारी गराइरहेको छ । विज्ञहरुले यो कुरा भनिरहेकै छन् । अब यसबाट बच्ने भनेकै एकअर्कामा नजिक नहुने, टा–टाढै बस्ने । यसका लागि भीडभाड हुन दिनु भएन ।
भीडभाड हुन नदिन विभिन्न कार्यविधि जारी गर्नुपर्ने भयो । सेवा बन्द गरेर होस्, कार्यालय बन्द गरेर होस्, कार्यक्रम रोकेर होस् या आदेश जारी गरेर । जे गरेर भएपनि नेपाललाई संक्रमणबाट बचाउनु नै हो । रोकथाम गर्ने जिम्मेवारी समुदायको पनि हो । समुदायले यसअघिको अनुरोध मान्दिनु भएन । त्यही भएर इनफोर्सको निर्णयमा पुगेका हौं । अब दण्ड, सजाय, जरिवाना हुन्छ ।
समुदायकै स्वास्थ्यको लागि निर्मम रुपमा प्रस्तुत हुनु पर्ने अवस्था देखियो । अब यो आदेशको उल्लंघन कहिँकतैबाट हुन्छ भने त्यसलाई कानुनअनुसार दण्ड हुन्छ । त्यही भएर हामी आक्रामक भएर प्रस्तुत हुनु परेको हो । स्वास्थ्यभन्दा ठूलो कुरा केही पनि छैन । स्वास्थ्यको ख्याल गर्ने पहिलो दायित्व आफ्नै हो ।
अब हामी आइसोलेसन सेन्टर बिस्तार गर्ने, क्वारेन्टिन व्यवस्थापन गर्ने, परीक्षण व्यापक बनाउने, ट्रेसिङलाई व्यवस्थित गर्ने कुरामा केन्द्रित हुन्छौं । स्वास्थ्य मन्त्रालयको अग्रणी भूमिकामा गाउँका आमा समूह, युवा समूह, टोल विकास समूहले सरकारको अभियानमा साथ दिनुपर्छ । आफूचाहिँ अनुशासनमा नबस्ने, जथाभावी हिँड्ने, जथाभावी गर्ने अनि सरकारलाई गाली गर्ने, यो पाराले हुँदैन ।
एक हप्ताका लागि भनिएको आदेश लम्बिँदै जाला । त्यस्तो अवस्थामा आम नागरिकमा पर्ने अप्ठेराबारे के सोच्नुभएको छ ?
यो कोभिड भनेको आफैंमा अप्ठेरो रोग हो । कहिल्यै नभोगेको रोग भोग्नु प¥यो, संसारकै बाध्यता भयो । यसबीचमा हामीले हाम्रो जीवनशैली परिवर्तन गर्नु पर्ला । दिनचर्या परिवर्तन गर्नु पर्ला । खानपानमा परिवर्तन गर्नु पर्ला । हरेक कुरालाई त्यागेर हामीले यतिबेला ज्यान बचाउने हो । अहिले मेरो अधिकार खोसियो, यो गर्न पाइनँ, ऊ गर्न पाइनँ, भन्ने कुराले खासै अर्थ राख्दैन । मुख्यकुरा भनेको अहिले तपाईं हाम्रो स्वास्थ्य हो ।
हामीमात्रै बचेर हुँदैन, अर्कालाई पनि बचाउनु पर्छ । त्यसका लागि हाम्रा खुसी, स्वार्थका कुराहरु त्याग्नुपर्छ । अब हामीले खेलाँची गर्नुहुँदैन । जुन देशमा सरकारले जारी गरेका आदेशको पालना भएको छ, ती देशमा संक्रमण रोकिएको छ । जुन देशमा लोकतन्त्रको नाममा जथाभावी गर्ने, आदेश नमान्ने गरिएको छ, त्यहाँ अवस्था भयावह छ । त्यो स्थिति हाम्रोमा नआओस् भनेर नै सरकारले पटक पटक विभिन्न किसिमका आदेश जारी गरेको हो । यसको व्यवस्थापनको पाटो चुनौतीपुर्ण छ ।
एउटालाई लाग्यो भने उसँगको सम्पर्कमा रहेका मान्छे कति छन् भनेर खोज्नु चुनौतीपूर्ण हुँदो रहेछ । अस्पतालको अभाव छ, आइसोलेसन सेन्टर छैन, क्वारेन्टिनको अभाव छ । औषधि अहिलेसम्म पत्ता लागेको छैन । भोलि रोग लाग्यो भने मर्नुको विकल्प छैन भन्ने अवस्था भइसक्यो । यस्तो अवस्थामा पनि हामी नियम पालना नगर्ने । अहिले जनताका सानातिना अप्ठेरोको होइन कोभिडले सिध्याउला भन्ने चिन्ता छ सरकारलाई । हामीले सामान्य कुरामा ख्याल गर्नेबित्तिकै रोग नलाग्ने रहेछ, त्यो भएकाले रोग लाग्नबाट बचाउने अभियानमा सरकार छ ।
सवारी पास पनि रद्द गरिसक्नु भएको छ । अब अत्यावश्यक काम परेर हिँड्नु परे के गर्ने ?
अत्यावश्यकमा के के पर्छ भन्ने जानकारी हामीलाई छ । अत्यावश्यक सेवा सञ्चालन हुनु पर्ने निकायका कर्मचारीले सम्बन्धित निकायले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा आवागमनमा सहजीकरण गर्ने भनेर हामीले भनिसकेका छौं । विस्तृतमा हामी प्रहरीलाई निर्देशन गर्दैछौं । के भएन भने चल्दैन भन्ने कुरा हामीलाई पनि थाहा छ, जे नभई हुँदैन त्यसका लागि आवागमनमा रोकिँदैन ।
कतिपय संस्कारसँग जोडिएका हुन्छन् । जस्तैः विवाह तय भएको होला त्यो पनि गर्न दिने । तर, त्यसका लागि थोरै संख्यामा उपस्थित हुनु पर्यो । हामी सहजीकरण गर्छौं । बिरामी लैजान सहजीकरण हुनुपर्छ । तर, उनीहरुसँग कागजात हुनुपर्छ । सरकारले अप्ठेरोमा पार्दैन, सहजीकरण गर्छ । आमाबाबु मरे भनेर अन्तै गएको पनि हामीले भेटेका छौं । जे हो त्यही कुरा भन्नु प¥यो, सरकारले अप्ठेरो पार्दैन ।
बहाना बनाएर, नाटक गरेर पास माग्ने, एक ठाउँ भनेर अर्को ठाउँ जाने हुनु भएन । पहिले मोर्डन अस्पताल जाने भनेर पास दिएँ मैले, त्यो गाडी मलेखुमा पक्राउ प¥यो । बाबुको मृत्यु भयो भनेर पास मागे, नगरपालिकामा बुझ्दा बाबु मरेकै रहेनछन् । त्यस्ता मान्छेलाई पनि यसपालि कडा रुपमा कारबाही गर्छौं । अब त हामीले बुझिसकेका छौं । कोरोना के हो? के गर्न हुन्छ? के गर्न हुँदैन? अब बुझाउनु पर्दैन, फोर्स गरेरै लागू गर्छौं ।
प्रहरीमा पनि संक्रमण बढिरहेको छ । धेरै प्रहरी परिचालन गर्न समस्या हुँदैन ?
त्यसका लागि हामीले योजना गरिसकेका छौं । कतिपय प्रहरी निको भएर क्वारेन्टिनबाट बाहिर निस्किसकेको अवस्था छ । संक्रमण देखिने भित्र बस्छन्, निको हुने बाहिर आउँछन् । त्यो हामी व्यवस्थापन गर्छौं ।
स्थिति भयावह नै भइसकेको हो र ?
हामी अनुशासनहीन भयौं भने योभन्दा भयावह अवस्था आउँछ भन्ने हाम्रो आकलन छ । हामी जो जहाँ छौँ, त्यही बस्यौं भने फेरि सामान्य अवस्थामा फर्किन्छ । बाहिरबाट आउने मान्छे रोक्ने र यहाँ अनुशासित हुने हो भने हामी सामान्य अवस्थामा फर्किन्छौं । परीक्षणको दर बढाएर क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन गर्न सकियो भने भयावह अवस्था रोक्न सकिन्छ ।
#नेपाल खबरबाट
सत्यपाटी ।