सूचनाको शक्ति - The Power Of Information

        

दुई सातादेखि कोरोना अस्पतालमा उपचाररत वीरगन्जकी संक्रमितको मृत्यु

पर्सा ।  गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतवार ०८:२१