सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

प्रदेश ५ मा २१ जना कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृतकको संख्या सबैभन्दा धेरै

बाँके । कोरोना संक्रमणबाट प्रदेश ५ का हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएको प्रदेशका आधारमा दोस्रो प्रदेश ५ स्थानमा रहेको छ । यहाँ संक्रमण पुष्टि भएकामध्ये २१ जनाको मृत्यु भइसकेको छ । प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा कोभिड–१९ का २१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशमा सबैभन्दा कम संक्रमण पुष्टि भएको जिल्ला रुकुम पूर्व हो । यहाँ २४ जनामा संक्रमण पुष्टि भएकोमा २२ जना निको भइसकेका छन् भने २ जनामात्र उपचारका क्रममा छन् । यहाँ कसैको पनि मृत्यु भएको छैन । अन्य जिल्लामा भने कोरोना संक्रमितको मृत्यु भइसकेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

प्रदेश ५ को बाँकेमा सबैभन्दा धेरै ४ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा हालसम्म २ जनाको मृत्यु भएको छ भने अर्घाखाँची र गुल्मीमा ३/३ जनाको मृत्यु भएको छ । रुपन्देही र दाङमा २/२ जनाको मृत्यु भएको छ भने प्युठान, बर्दिया, नवलपरासी पश्चिम र, रोल्पामा १/१ जनाको मृत्यु भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

लक्षणसहितका संक्रमित धेरै

पछिल्लो समय कोभिड–१९ संक्रमण पुष्टि हुनेमा लक्षणसहितका संक्रमितहरु बढी देखिन थालेका छन् । हाल प्रदेश ५ मा रहेका एक्टिभ केसमध्ये करिब २० प्रतिशत लक्षणसहितका संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा कुल एक्टिभ केसमध्ये झण्डै २० प्रतिशत लक्षणसहितका संक्रमित छन् ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये हाल सबैभन्दा धेरै बाँके र कपिलवस्तुमा सक्रिय संक्रमित रहेका छन् । प्रदेश ५ मा समुदायस्तरमा कोरोना फैलिइसकेको छ । प्रदेशभर कन्ट्याक्ट हिस्ट्री नभएकालाई ३०० बढि व्यक्तिमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । यही अवस्था रहेमा कोरोना नियन्त्रण बाहिर जानसक्ने पनि स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कोरोनाको प्रभाव दिनप्रतिदिन बढिरहेको बेलामा सर्वसाधारणमा देखिएको हेलचेक्रेयाईले संक्रमणको जोखिम थप बढ्दो छ । कोरोनाको सङ्क्रमण समुदायमा पुगिसकेकोले यस्तो अवस्थामा सावधानी र सतर्कता अपनाइएन भने अवस्था अझै अनियन्त्रित हुने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

बाँकेका प्रमूख जिल्ला अधिकारी एवं जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले भने, ‘कोरोना समुदायमा प्रवेश गरिसकेको छ । हामी सुरक्षा र सतर्कताका सबै मापदण्डहरू पालना गर्न चुक्नु हुँदैन । घरबाहिर निस्किँदा ख्याल गर्नुपर्छ । नागरिक सचेत नभए कोरोना नियन्त्रण बाहिर जानसक्छ ।’

विभिन्न कार्यक्रममा आउजाउ गर्ने जनप्रतिनिधि, कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिसकेकोले समुदायस्तरमै कोरोना संक्रमण फैलिइसकेकोले सावधानी अपनाउन नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुले आग्रह गरिरहेका छन् ।

जिल्लामा कोरोनाको अवस्था सामान्य र नियन्त्रित रहेको भनी कसैले पनि सुरक्षा र सतर्कताका मापदण्ड उल्लघंन गर्ने हो भने अवस्था एकाएक धान्नै नसक्ने स्वरूपमा जान सक्ने खतरा भने उच्च रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा सङ्क्रमितहरु बढिरहेको अवस्थामा कुनै पनि बेला अवस्था अनियन्त्रित हुनसक्ने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १७:४३