सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बन्दाबन्दी र निषेधाज्ञाबीच ‘रगत स्टक अति न्यून’

काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकोले रक्तदान गर्न रेडक्रसले युवालाई आग्रह गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरै रक्तसञ्चार केन्द्रहरूमा रगत स्टक अति न्यून रहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

उनका अनुसार तय भएका रक्तदान क्याम्पहरू स्थगित भइरहेका छन् । उनका अनुसार केन्द्रीय रक्तसञ्चार सेवामै आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेको छ । बिहीबार र शुक्रबार केन्द्रीय रक्तसञ्चार सेवामा रगत लिन आएका दर्जनौँ बिरामीका आफन्तलाई खाली हात फिर्ता पठाइएको उनले बताए । नियमित रगत चाहिने खालका बिरामीहरूका लागि समेत रगत पर्याप्त आपूर्ति गर्न गर्न नसकिएको निर्देशक पौडेलले बताए ।

नियमित रगत चाहिने क्यान्सर, मिर्गाैला, थालसेमिया, हेमोफिलियाजस्ता बिरामीलाई समेत रक्तसमूह मिल्ने आफन्त खोजी रगत दिन लगाई काम चलाइरहेको पौडेलले बताए । दुर्घटना, प्रसूती, मुटु, आकस्मिक शल्यक्रियाका बिरामीहरूका आफन्तहरूलाई कतिपय अवस्थामा फर्काउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । विशेषगरी देशमा मुख्य सहरहरू तथा मिर्गाैला, क्यान्सरका रोगी धेरै हुने स्थानहरूमा रगतको अभाव भइरहेको निर्देशक पौडेलले बताए ।

उनका अनुसार काठमाडौँ, विराटनगर, धरान र चितवनलगायत मुख्य सहरमा रगत अत्यन्तै अभाव भइरहेको छ । ‘बन्दाबन्दीको सुरुमा रगत राम्रै सङ्कलन भएको थियो । तर यो लम्बिँदै गएपछि रक्तसञ्चार क्याम्पहरू गर्न असहजता भएका कारण यस्तो अभाव भएको हो,’ निर्देशक पौडेलले भने । असहजताबीच पनि रेडक्रसले रगत सङ्कलन गर्न पहल गरिरहेको निर्देशक पौडेलको भनाइ छ ।

भक्तपुरमा स्थानीय प्रशासनसँगको समन्वय गरी शनिबार रक्तदान कार्यक्रम गरिरहेको उनले जानकारी दिए । रगतको अभाव भएकोले रक्तदाता तथा स्थानीय सङ्घसंस्थाले साना समूहमा रक्तदान कार्यक्रम आयोजना गरी रगत आपूर्ति गराउन सकिने उनको भनाइ छ । सुरक्षित तवरले रक्तदान गराउँदा कोभिड १९ को जोखिमसमेत नहुने भएकोले नियमितरुपमा रक्तदान गराइरहेका व्यक्ति तथा युवाहरूले नजिकका केन्द्रहरूमा गई रक्तदान गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १६:५५