सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

२८० जनाकै रिपोर्ट नेगेटिभ आएपछि डोल्पा कोरोनामुक्त

डोल्पा । हिमाली जिल्ला डोल्पा कोरोना संक्रमणमुक्त भएको छ । एक साताअघि कोरोना परीक्षणका लागि नेपालगन्ज र सुर्खेत पठाइएका २८० जनाकै रिपोर्ट नेगेटिभ आएसँगै डोल्पा कोरोना संक्रमणमुक्त भएको हो । लकडाउन खुलेसँगै शहर बजारबाट भित्रिएका स्थानीय, व्यापारी, कर्मचारी र छिमेकी जिल्ला रुकुम र जाजरकोटबाट ठुलो सङ्ख्यामा भित्रिएका कामदारका कारण डोल्पामा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

ठुलो सङ्ख्यामा जिल्ला बाहिरबाट सर्वसाधारणहरू भित्रिएपछि कोरोना संक्रमण संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्लाबासीले चिन्ता गरेका थिए । देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा नागरिकस्तरमा सचेतना ल्याउन सकेका कारण डोल्पामा कोरोना संक्रमण शुन्य भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

‘कर्णाली प्रदेशका अधिकांश जिल्लामा संक्रमित छन्, कतिपय जिल्लामा कर्फ्यु लगाइएको छ, डोल्पामा न संक्रमित छन्, न कर्फ्यु लगाउनुपर्ने अवस्था छ,’ प्रजिअ सुनारले भने, ’कोरोना संक्रमणबाट जिल्ला सुरक्षित हुनु जिल्लाबासीका लागि खुशीको कुरा हो, तर पनि हामी सचेत छौँ, जिल्ला भित्रने नाकामा कडाई गरेका छौँ, कोही आइहाले पनि अनिवार्य क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाइएको छ ।’

आगामी दिनहरुम जिल्लामा कोरोना संक्रमण अवस्था भयावह भइहाले निषेधाज्ञा पनि लगाइने उनको भनाई छ । जिल्लालाई कोरोना संक्रमणबाट जोगाउनका लागि जिल्ला प्रशासन, सुरक्षा निकायहरु,स्थानीय तह,जनप्रतिनिधि,सञ्चारकर्मी लगायतका सरोकारवाला निकायबीच निरन्तर समन्वय भइरहेको अधिकारीहरूले बताएका छन् । अझै पनि जिल्लाका अन्यत्र ठाउँमा पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

अहिले जिल्लाका त्रिवेणी, मध्यवती भवन त्रिपुराकोट र दुनैस्थित सरस्वती माविमा गरेर तीन ठाउँका क्वारेन्टाइनमा ७ जनालाई राखिएको छ । डोल्पामा हालसम्म १ हजार ८५ जना पुरुष र ४१५ जना महिलाको पीसीआर परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

त्यसैगरी, हालसम्म ८९८ पुरुष र ५६७ महिला गरेर जम्मा १ हजार ४६५ जनाको आरडीटी परीक्षण गरिएको प्रहरीले जनाएको छ । डोल्पामा यसअघि चार जनालाई कोरोना संक्रमण भएको छ । जगदुल्ला गाउँपालिकाका एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको थियो भने अन्य तीनजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १३:५२