सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा सफल शल्यक्रिया

फाइल तस्वीर

बाँके । गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्रीरोग विशेषज्ञसहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगन्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए ।

बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ,’ उनले भने ।

उनका अनुसार यो सँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो । गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगन्ज जान सुझाएका थिए ।

पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन् ।

सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगञ्ज पु¥याएका थिए । नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआउनु भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा परेका थिए ।

कोरोना फैलिएको करीब ५ महिनासम्म पनि पोजेटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरे जनाएको छ ।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ । नेपालको संविधानको धारा ३८ को (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ ।

उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । साथै महामारीको बेला यौन तथा प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १२:४९