सूचनाको शक्ति - The Power Of Information

        

फलफुल र टिमुरको पकेट क्षेत्र बन्दै ‘थलारा’

बझाङ । बझाङको थलारा गाउँपालिकालाई फलफुल तथा टिमुरको पकेट क्षेत्र बनाउन गत बर्षदेखि अभियान नै सञ्चालन गरेको छ । गाउँपालिकाले यस बर्षमात्रै ८ हजार बोट टिमुर, ९ हजार बोट दाँते ओखर र अन्य अमिलो जातका फलफुल, अलैचीका बोट किसानलाई वितरण गरेको छ ।

गाउँपालिकालाई फलफुलको पकेट क्षेत्र बनाउने उद्देश्यले वडा नं. ५ र ६ विभिन्न कृषक समुहलाई २० हजार बोट सहयोग गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उनले भने, ‘स्थानीयलाई आर्थिकरुपमा आत्मर्निभर बनाउन र जिविकोपार्जनसँग जोड्न र किसानलाई नर्सरी उत्पादनमा समेत जोड दिएका छौं । बहुउद्देश्यीय नर्सरीबाट अलैची, दाँते ओखर र टिमुर लगायतका अन्य जातका फलफुलका विरुवाहरु उत्पादन भइरहेका छन् ।’

उनले विगतका बर्षहरुमा जिल्ला बाहिरबाट खरिद गरि ल्याउनुपर्ने भएकाले यो समस्यालाई हटाउन किसानलाई नर्सरीसँग जोड्ने गरी यसबर्ष कृषितर्फ गाउँपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेको बताए । थलारा–४ का स्थानिय बासी गोकुलराज जोशीले आफुले टिमुर खेती गरेको र यस बर्षमात्रै १०० बोट टिमुरका लगाएकोे बताए । उनले आगामी बर्ष एक हजार बोट टिमुर लगाउने पनि बताए ।

विदेशमा समेत टिमुरको माग उच्च रहेको र टिमुरको उपयोगिता धेरै भएको बताउँदै उनले भने, ‘टिमुर मसला, तेल र औषधीमा प्रयोग हुने भएकाले मैले टिमुर लगायत फलफुल खेती गर्न थालेको हुँ ।’ जोशीले टिमुरको बोट सानो छँदा बचाउनु पर्ने र टिमुर चरा मुसा कसैले नखाने हुँदा टिमुरबाट मनग्य आम्दानी गर्न सकिनेसमेत बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १२:२७