सूचनाको शक्ति - The Power Of Information

        

डेंगु रोक्न ७५ करोड लामखुट्टे प्रकृतिमा छोडिँदै

काठमाडौं । अमेरिकाले डेंगु नियन्त्रणको लागि लामखुट्टेसँग लामखुट्टेलाई नै भिडाउने तयारी गरेको छ । अमेरिकाको फ्लोरिडामा ७५ करोड जेनेटिकली मोडिफाइड (जैविकरुपमा पुनर्संरचना गरिएका) लामखुट्टे प्रकृतिमा छोडिने छन् ।

स्थानीयस्तरमा जीका भाइरस र डेंगु फैलाउने प्रजातिका लामखुट्टेको संख्यामा नियन्त्रण गर्ने उद्देश्यले यस्तो गर्न लागिएको हो । वर्षौंदेखि पर्यावरण विशेषज्ञहरुबीच यसरी ठूलो संख्यामा लामखुट्टे प्रकृतिमा छोड्दा स्थिति बिग्रियो भने जिम्मेवार को हुने भन्ने विषयमा बहस भइरहेको छ ।

यद्यपि अहिलेको लागि यो पाइलट प्रोजेक्टले स्वीकृति पाइसकेको लाइभ र्सान्सको रिपोर्टमा उल्लेख छ । यसका लागि प्रयोगशालामा विशेष किसिमका लामखुट्टे तयार गरिन्छन् जसको शरीरमा एक विशेष किसिमको प्रोटिन हुन्छ । यी लामखुट्टेलाई जेनेटिकली मोडिफाइड लामखुट्टे भनिन्छ ।

भाले लामखुट्टे कहिल्यै पनि कुनै रोग फैलाउने कारण बन्दैन किनकि भाले लामखुट्टेले कहिल्यै पनि मानिसलाई टोक्दैन । भाले लामखुट्टे आहारको लागि फूलको रसमा निर्भर रहन्छ । मानिसलाई टोक्ने र प्राणघातक रोग फैलाउने काम पोथी लामखुट्टेले गर्छन् । जेनेटिकली मोडिफाइड लामखुट्टेलाई ती स्थानमा छोडिन्छ जहाँ पहिले नै लामखुट्टेको संख्या अधिक छ ।

जेटेटिकली मोडिफाइड लामखुट्टेले त्यहाँ पहिलेदेखि भएका पोथी लामखुट्टेको साथमा प्रजनन गर्छ । मोडिफाइड भाले लामखुट्टेमा खास किसिमको प्रोटिन हुनेछ जो प्रजननको क्रममा पोथीको शरीरमा पुग्नेछ । यसको कारण नयाँ जन्मिने पोथी लामखुट्टे मानिसलाई टोक्ने उमेरसम्म पुग्नुभन्दा पहिल्यै मर्नेछन् ।

भाले लामखुट्टेको जीन अर्को पीढीमा पुग्नेछ र विस्तारै पोथी लामखुट्टेको संख्या घट्नेछ । केही समयपछि मानिसमा डेंगु, जीका, चिकनगुनिया जस्ता रोगको दर पनि घट्नेछ । गएको मे महिनामा अमेरिकी वातावरणीय एजेन्सीले बेलायतको कम्पनी अक्सिटेकलाई जेनेटिकली मोडिफाइड लामखुट्टे तयार गर्ने अनुमति दिएको थियो ।

प्रयोगशालामा भाले एडिज इजिप्सी लामखुट्टे तयार गरिनेछन् जसको लाम ओएक्स ५०३४ राखिएको छ । यिनीहरुलाई २०२१ मा फ्लोरिडाको एक टापुमा छोडिनेछ दुइ वर्षको अवधिमा कूल ७५ करोड लामखुट्टे छोडिनेछ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार १०:५३