काठमाडौं । महात्मा गान्धीको चस्मा नेपाली रुपैयाँ चार करोडमा विक्री भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार गान्धीको चस्मा एकजना अमेरिकी नागरिकले २.५५ करोड भारुमा किनेका छन् । गान्धीको चस्माको लिलामी गरिएको हो ।
भारतीइ स्वतन्त्रता आन्दोलनका अहिंसावादी नेता गान्धी विश्वभर अहिंसावादी आन्दोलनका शीर्ष पुरुष मानिन्छन् । यसअघि बेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको थियो । ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५ हजार पाउन्डमा बिक्री हुने अपेक्षा पनि गरिएको थियो ।
गान्धी आफ्नो सामान अरूलाई दिने भनेर चिनिन्छन् । स्टोका अनुसार उक्त चस्माप्रति विशेष गरेर भारतबाट धेरैले रुचि देखाएका थिए । तर भाग्यवश उक्त चस्मा आफ्नो हात परेको उनको भनाइ छ । उनले भने, ‘त्यो साधारण सेतो खाममा थियो । त्यो चोरिन वा फोहोरदानीमा मिल्किन पनि सक्थ्यो । हाम्रो कम्पनीमा आएको यो सम्भवतः सबैभन्दा महत्वपूर्ण वस्तु थियो ।’ अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम गरिएको छ ।
सत्यपाटी ।