सूचनाको शक्ति - The Power Of Information

        

इन्टरलाई स्तब्ध पार्दै सेभियाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो ।

सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे ।

इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए ।

कोलोग्ने स्टेडियममा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेभिया च्याम्पियन बनेको हो ।

खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए ।

डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसमा लुकाकुले सहजै गोल गरे ।

यससँगै लुकाकु युरोपियन प्रतियोगिताको ६ खेलमा क्रिस्टियानो रोनाल्डोपछि लगातार गोल गर्ने दोस्रो खेलाडी बने ।

तर , १२ औं मिनेटमा योङले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा फर्काए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए ।

३३ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । यस पटक योङले इभर बनेगाको क्रसमा हेड गोल गरे ।

तर, ३६ औं मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । मार्सेलो ब्रोजोभिकको फ्रिकिक बलमा गोडीनले हेड गोल गरेका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा कार्लोसले गोल गर्दै सेभियालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो ।

इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो ।

तर, पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार ०६:३०