सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

‘रुसको खोप पहिला आउँदैन, नेपालमा थर्ड ट्रायल’

काठमाडौं । रुसले दाबी गरेर बनाएको कोरोनाविरुद्धको खोप पहिले बाहिर नआउने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले दाबी गरेका छन् । कोरोना भाइरसको सतर्कताको विषयमा र आफूसँग भएको जानकारी सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले यसबारे बताएका हन् ।

रुसले कोरोनाविरुद्धको खोप निर्माणमा आफ्नो नाम लेखाउन दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको बताउँदै उनले भाइरसले स्वरूप परिवर्तन गर्ने भएकोले यसको एन्टिभाइरल औषधि बन्न कठिन हुँदा खोप आउँछ वा आउँदैन यकिन नभएको बताए । औषधिको विषयमा रुसले बोलेको कुरा हल्ला भएको उनले दाबी गरे ।

‘औषधिको विषयमा विश्वमा हल्लामात्र चलेको छ । अहिले रुसले बनायो भन्ने हल्ला चलेको छ । तर काम भने हल्लाको विपरीत छ । रुसले हल्ला चलायो तर त्यो भन्दाअघि आधा दर्जन कम्पनीले खोप ल्याउन सक्छन्,’ डा.पाण्डेले भने, ‘रुसले साइन्टिफिक पेपरमा पब्लिस गरेको छैन ।’

पाण्डेले जम्मा ३८ जनामा टेस्ट गरेको बताउँदै रुसले आफूले पहिले खोप बनाएको दाबी गर्न यसो गरेको दावी गरे । खोपले काम गरेको वा नगरेको बारेमा थाहा पाउन तेस्रो चरणमा उमेर, जात, रोगी, भूगोल, समुदाय, लिंग, रङका आधारमा हजारौँमा परीक्षण गर्नुपर्ने भए पनि रुस ‘मास टेस्ट’ मा नपुगेको बताए ।

कसले ल्याउला पहिलो खोप ?

उनले सबैभन्दा पहिले अक्सफोर्ड विश्वविद्यालयले रिसर्च गरेको र एक्स्ट्रा जेनेगा कम्पनीमा उत्पादन गरेको खोप बजारमा आउने दाबी गर्दै जेनेगाले खोप परीक्षण तेस्रो चरणमा गरिरहेकोले यस क्रममा बेलायतमा १० हजार, अमेरिका २० हजार, ब्राजिल ६ हजार, दक्षिण अफ्रिका २ हजार र भारतमा १६ सय जनामा प्रयोग गरेको बताए ।

दोस्रोमा, चीनको क्यान्सिनो बायोलोजिक्स कम्पनीले निर्माण गरिरहेको खोप बजारमा आउन सक्ने भन्दै डा.पाण्डेले त्यो खोप चीनको जनमुक्ति सेनासहित सबैभन्दा बढी दुबईमा र क्रमशः ब्राजिल, चिली, फिलिपिन्स र इन्डोनेसियामा तेस्रो चरणमा परीक्षण भइरहेको बताए ।

तेस्रोमा, अमेरिकाको मोडेनामा तेस्रो चरणको परीक्षण भइरहेको खोप आउन सक्ने उनको अनुमान छ । चौथोमा, चीनको सिनोफार्म बायोटेक कम्पनीले थर्ड फेजमा परीक्षण गरिरहेको खोप, पाँचौँमा, फ्रान्सको स्यानोभी कम्पनी वा अमेरिका र जर्मनीको संयुक्त फाइजर कम्पनीबाट आउन सक्ने उल्लेख गरे ।

अहिलेसम्मको विकास क्रम हेर्दा सातौँमा बल्ल रुसको खोप आउन सक्ने भन्दै डा.पाण्डेले अहिले भारतले पनि ३ ओटा भ्याक्सिनमा राम्रो प्रगति गरेको जानकारी दिए । भारतको कोभ्याक्सिन भन्नेले परीक्षणको पहिलो चरण पार गरिसकेको भन्दै उनले अरू भ्याक्सिन आएको २ महिनापछि भारतको भ्याक्सिन आउन सक्ने आँकलन पनि गरेका गरेका छन् ।

नेपालमा फागुनमा, थर्ड ट्रायल गरौँ, प्रधानमन्त्रीस्तरबाट पहल होस्

यो खोप नेपालमा आउन छिटोमा फागुन महिनासम्म लाग्ने र ढिलोमा भने भन्न नसकिने डा. पाण्डेको भनाइ छ । उनका अनुसार ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)ले अल्प विकसित ९२ ओटा देशलाई निःशुल्क वा न्यूनतम मूल्यमा खोप उपलब्ध गराउने उल्लेख गरेको र खोपको मूल्य सुरुमा युरोप तथा अमेरिकातिर सय डलरभन्दा बढी पर्ने छ ।

तर बिल गेट्सको ‘बिल गेट्स एन्ड मिलेनियर फाउन्डेसन’ र ‘गाभी’बीच अल्पविकसित देशमा ३ डलरमा (नेरु साढे ३ सय)मा उपलब्ध गराउने सम्झौता भएकाले नेपालमा खोप आएमा सामान्य व्यक्तिले पनि पाउने उनको भनाइ छ । अरूले खोप बनाइदेला र नेपालीले प्रयोग गरौँला भनेर बसेमा खोप नपाउने उल्लेख गर्दै डा.पाण्डेले खोप भित्र्याउन सरकारले प्रधानमन्त्रीस्तरबाट खोप उत्पादक देश र वितरण गर्ने गाभीसँग समन्वय गरेर ३ करोड डोज नेपाललाई चाहिने भनी जानकारी गराउनुपर्ने बताए ।

‘सजिलै त कसरी हुन्छ रn? नेपालमा ल्याउन सरकारले प्रधानमन्त्री स्तरबाट पहल गर्नुपर्छ । परराष्ट्र मन्त्रालय, राजदूतहरू र डब्लूएचओको च्यानलबाट उनीहरूसँग समन्वय गर्नुपर्छ,’ उनले भने, ‘जसले थर्ड फेजको क्लिनिकल टेस्ट गरिरहेका छन्, उनीहरूलाई नेपालमा पनि टेस्टका लागि बोलाउनुपर्छ । क्लिनिकल टेस्ट भनेको अलमस्ट औषधि तयार भएको अवस्था हो । त्यसले नेपालीमा काम गर्ने नगर्ने पनि थाहा हुन्छ, प्रयोग गरेकै बेलामा धेरैलाई निको पनि हुन्छ, संस्थासँगको सम्बन्ध राम्रो बन्दा उनीहरूले खोप उपलब्ध गराउन हामीलाई प्राथमिकता पनि दिन्छन् ।’

मास्क लगाउँदा अक्सिजन कम हुन्छ भन्नु भ्रम

डा.पाण्डेले मास्क लगाउँदा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ भन्ने भनाई आफूले सुनेको बताउँदै त्यो गलत भएको बताएका छन् । कोरोनाबाट जोगिन नागरिकको मुख्य दायित्व भनेको मास्क प्रयोग गर्नुभएको बताउँदै उनले अध्ययनअनुसार चीन, भियतनाम, भुटान, इन्डोनेसिया, जापान, कोरिया, सिंगापुरका ९० प्रतिशत मानिसले ठिक तरिकाले मास्क लगाएको जानकारी दिए ।

‘मास्कको विषयमा कतिपय रियुमरहरु रहेको मैले पढेको र सुनेको छु । मनपरी तरिकाले मास्क बनाइएको हुँदैन । मास्क निर्माणका मापदण्ड पूरा गरेर बजारमा ल्याएका हुन्छन् । अस्पतालमा काम गरिरहेका चिकित्सकले २४ सै घण्टा मास्क लगाइरहेका छन्, तर अक्सिजन नपाएर मरेको भन्ने छैन,’ उनले भनेका छन् ।

उनले नागरिकले एन नाइन्टी फाइभ, के नाइन्टी फाइभजस्ता महँगा लगाउनु नपर्ने पनि बताएका छन् । सर्जिकल मास्क ४ घण्टामा डिस्पोज गर्नुपर्छ, कपडाले बनाएको मास्कमा तीन लेयर हालेको भए ठिक हुन्छ ।’ मास्क निर्माण गर्दा कार्बनडाइअक्साइड फाल्न र अक्सिजन लिन मिल्ने गरी तयार पारेर सोही अनुसार दर्ता भएर बजारमा आउने डा.पाण्डेको भनाइ छ । कोरोना रोकथामको सबैभन्दा ठूलो अस्त्र मास्क भएको उनले बताए ।

घरमा बस्दा साबुनपानी, बाहिर जाँदा सेनिटाइजर

सेनिटाइजरले छालामा साइड इफेक्ट गर्छ भन्ने कुरा सुनिएको बताउँदै डा.पाण्डेले फर्मास्युटिकल्स कम्पनीले निकालेका स्यानिटाइजर प्रयोग गरेमा छालामा एलर्जी हुने लगायतका साइड इफेक्ट नदेखिने बताए । सेनिटाइजर साबुनपानी नभएको ठाउँमा प्रयोग गर्नु उत्तम भएको बताउँदै उनले घरमा साबुन पानीको पहुँचमा रहेका बेलामा त्यही प्रयोग गर्न र साबुनपानी उपलब्ध नरहेको अफिस वा बाटोमा हिँड्दा स्यानिटाइजर प्रयोग गर्न सुझाए । हरेक व्यक्तिमा कोरोना सङ्क्रमण छ भन्ने शङ्का मानेर सामाजिक दूरी कायम गर्नुको विकल्प नरहेको पनि उनको भनाइ छ ।

पिसिआरको भर ७० प्रतिशत मात्र

डा.पाण्डेले पिसिआर परीक्षणबाट आएको नतिजामा ७० प्रतिशतमात्रै सत्यता हुने भएकोले पिसिआरको रिपोर्ट आएकै आधारमा कोरोना छैन भनी सतर्क हुन छाड्ने बानी गलत भएको बताए । पिसिआर परीक्षणका आफ्नै सीमाहरू रहेको बताउँदै डा.पाण्डेले २ पटक गरिने टेस्टको मात्र भर पर्न सकिने उल्लेख गरे । ३० प्रतिशत रिपोर्टमा नेगेटिभ हुनुपर्नेमा पोजेटिभ र पोजेटिभ हुनुपर्नेमा नेगेटिभ आउनसक्ने भएकाले नेगेटिभ रिपोर्ट आए पनि १५ दिन क्वारेन्टाइनमा बस्न सुझाए ।

अस्पतालभन्दा होम क्वारेन्टाइन र आइसोलेसन ठिक

अस्पतालमा बस्दा बिरामी वा शंकास्पदको मानसिकतामा असर पर्ने भएकोले हस्पिटलमा बस्न नपाएकै कारण चिन्ता गर्नु नपर्ने बताए । बजारमा कोठा भाडामा लिएर बस्नुपर्नेलाई अस्पताल वा अन्य क्वारेन्टाइनमा बस्नुको विकल्प नभएको भए पनि गाउँमा रहेकाहरू भने परिवारकै सम्पर्कमा रहेर सुरक्षित तरिकाले बस्न सुझाउँछन् ।

‘हामी धेरै अनुशासनमा छैनौँ, डिस्टेन्स अरूले राखिदिने हो भन्ने सोचेका छौँ । मेरो परिवारलाई कोरोना सार्दिनँ भनेर प्रतिबद्ध हुनुपर्छ । बिनालापरबाही यो सर्दै सर्दैन,’ उनले भने, ‘८० प्रतिशत मानिसलाई आफै ठिक भएको हुन्छ, जुन हामीलाई थाहै नहुन सक्छ । यो अवस्थामा बाहिर सुनेको भ्रमका आधारमा डराउनु आवश्यक छैन । डराउन जति दिमाग खर्च गरेका छौँ, त्यति दिमाग सतर्कतामा प्रयोग गरौँ ।’

 

 

#थाहा खबर

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १६:३१