सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल । रुपन्देही र चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।

उनी स्वर्गद्वारी नगरपालिका–७, सोत्रेका स्थायी बासिन्दा हुन् । उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनको प्यूठानमै उपचार भइरहेको थियो ।

तर, संक्रमण पुष्टि भएपछि उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो । यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार जारी थियो । सुगर र उच्च रक्तचापको विरामीसमेत रहेका उनको आज बिहान साढे ६ बजे निधन भएको डा.थापाले बताए । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

यस्तै चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका अस्पताल स्रोतले जनाएको छ । अस्पतालले शुक्रबार बिहान सूचना जारी गरेर यो जानकारी गराएको हो । विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ ।

मृतक पुरुष दीर्घरोगी रहेका र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या देखिएको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भइसकेको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । चितवनमा पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ०९:०६