सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

चाडपर्वमा निर्णय प्रशासनकै निर्णय अवज्ञा, कोरोनाको जोखिम बढ्यो

बझाङ । सुदूरपश्चिमको प्रमुख पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका तीज मनाउन बझाङमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चाडपर्व मनाउँदा भीडभाड नगर्न र अनिवार्य जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न जिल्ला प्रशासन कार्यालय बझाङ र विभिन्न स्थानीय तहहरुले अनुरोध गरेका छन् ।

तीज र गौरा पर्वजस्ता पर्वहरु घरमै बसी जनस्वास्थ्य एवं सुरक्षा मापदण्डहरु कायम गरि परिवारभित्रै मनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । सामुहिकरुपमा भीडभाड गरि चाडपर्व मनाएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

तीज, गौराजस्ता चाडपर्वहरु नजिक आइरहेकोले नेपाल सरकारको निर्णय र निर्देशन अनुसार भीडभाड नहुने गरेर परिवारका सदस्यहरुसँग मात्रै चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ । घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, खेणी, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बझाङले सबै स्थानीय तहहरुलाई समेत भीडभाड हुने कुनै पनि चाडपर्व, सभा, सम्मेलन तथा कार्यक्रम नगर्न नगराउन आग्रह गरेको छ । तर उक्त सूचनाको अवज्ञा गर्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा) र नेपाली काँग्रेसले विभिन्न सभा सम्मेलन गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेकै दिन सदरमुकाम चैनपुरमा नेकपाले बृहत कार्यक्रमको आयोजना गर्यो भने काँग्रेसले जयपृथ्वी नगरपालिका–७ मा कार्यक्रमको आयोजना गर्यो ।

सूचना जारी गर्ने जिल्ला प्रशासन भने मौन बनेको स्थानीयको आरोप छ । दुबै पार्टीको कार्यक्रम केन्द्रदेखि जिल्लास्तरका नेता तथा बुद्धिजीवीहरूसमेत सहभागी रहेको थियो । स्थानीयले ठुलालाई कानुन नभएजस्तो र सानाका लागिमात्रै कानुन भएको अनुभुति गर्नेजस्तो अनुभूति भएको स्थानीय बताउँछन् । प्रजिअ भण्डारीले पार्टीका नेताहरुलाई भीडभाड नगरी सामाजिक दुरी कायम गरेर कार्यक्रम गर्न भनेको बताए । आफुले भीडभाड भएको कतैबाट पनि सूचना नपाएको बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ०८:५६