सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा ज्वरोका गम्भीर बिरामीको चाप

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको इमरजेन्सी र मेडिकल वार्ड ज्वरोका गम्भीर बिरामीहरुले भरिन थालेको छ । पछिल्लो समय ज्वरो आएर अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ । इमरजेन्सी वार्डमा दैनिक १५ देखि २० जनासम्म अक्सिजन नै दिनुपर्ने अवस्थाका बिरामीहरु आउने गरेकाको इमरजेन्सी वार्डका चिकित्सक डा.सुवास पौडेलले बताए ।

इमजरेन्सी वार्डमा रहेका १६ मध्ये १३ शय्यामा ज्वरोका गम्भीर बिरामी भर्ना गरिएको छ । ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, सास फेर्न नै गाह्रो हुनेजस्ता समस्या भएपछि बिरामीहरुलाई अस्पतालमा ल्याइने गरिएको अस्पतालले जनाएको छ । ज्वरो आएका बिरामीहरुमध्ये केहीलाई कोरोना भाइरस संक्रमणको शंकामा पिसिआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरी प्रि–आइसोलेसन वार्डमा भर्ना गरेर निगरानीमा राख्ने गरिएको छ ।

कोरोनाको संक्रमण नभए पनि टाइफाइड, मलेरिया, स्फस टाइफस, डेँगु, कालाज्वरजस्ता रोगको समस्याका कारण ज्वरो आउने र मानिसको मृत्यु पनि हुन सक्ने जोखिम बढ्दै गएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डेले बताए । ज्वरोका बिरामी बढेसँगै भेरी अस्पतालले मेडिकल वार्डको करिब ५० शय्यालाई प्रि–आइसोलेन वार्डमा परिणत गरेको छ । प्रि–आइसोलेन वार्डमा पनि एक दर्जनभन्दा बढी बिरामीहरु भर्ना छन् ।

अस्पतालमा हरेकदिन साँझ ४ देखि ६ बजेसम्म चिकित्सकहरुको सिफारिसको आधारमा शंकास्पद बिरामीहरुको स्वाब संकलन गरी पिसिआर टेष्ट गर्ने गरिएको छ । बाँकेमा हालसम्म ७३८ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २६७ जनाको उपचार भइरहेको छ । चारजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:५२