सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञामै बर्दियामा कस्मेटिक पसल खुला

बर्दिया । बर्दियामा निषेधाज्ञा जारी भए पनि तीजलाई लक्षित गर्दै आज ४ घण्टाका लागि अत्यावश्यक खाद्यान्न तथा कस्मेटिक पसलहरू खोलिएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर खाद्यान्न तथा कस्मेटिक पसलहरू खुला गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमण जोखिम कम गर्न बर्दियामा गएको साउन २५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । आज भने खाद्यान्न ताथ कस्मेटिक पसल बिहान ८ बजेदेखि १२ बजेसम्म खुला रहने छन् । यो समयमा स्थानीयले आफुलाई आवश्यक परेका सामाग्रीहरू खरिद गर्न सक्ने जिल्ला प्रशासनले जनाएको छ ।

स्थानीयहरू सामाजिक दुरी कायम गर्दै आफूलाई आवश्यक परेका सामाग्री खरिदका लागि बजार पुगेका छन् । आज निश्चित समयसम्मका लागि बर्दियाका भुरीगाउँ, ठाकुरद्वारा, बाँसगढी, गुलरिया, राजापुर लगायत स्थानका बजारहरू खुला गरिएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आज चार घण्टाका लागि पसल खुला गर्ने निर्णय गरेको थियो ।

चार घण्टा पसलहरू खुला भए पनि निषेधाज्ञा भने यथावत नै रहेकाले तीजको समयमा अनावश्यक हो–हल्ला नगरी आ–आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन प्रशासनले आग्रह प्रशासनले गरेको छ । यस्तै, तीजका समयमा घरमा दर खुवाउने नाममा मानिसहरू तथा आफन्तहरू जम्मा नगर्न र घरकै परिवार मिलेरमात्रै चाड मनाउन भनिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि अनावश्यक रुपमा घरबाहिर ननिस्कन, सामानहरू खरिद बिक्री गर्दा सामाजिक दुरी कायम गर्न, घर बाहिर हिँड्दा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न बर्दियाका प्रमुख जिल्ला अधिकारी अधिकारीले सम्पूर्ण स्थानीयलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:४३