सूचनाको शक्ति - The Power Of Information

        

आफ्नो पहिलो कार ‘मारुती ८००’ खोज्दै क्रिकेटर सचिन

एजेन्सी । पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो पहिलो कार खोज्न सहयोग गरिदिन आफ्ना प्रशंसकहरुलाई अपिल गरेका छन् । कारका सोखिन सचिनले आफ्नो पहिलो कार ‘मारुती ८००’ रहेको जानकारी गराए । यो मोडलको कार सन् १९९० को दशकमा भारतमा खुब लोकप्रिय थियो ।

सचिनले आफ्नो कारको बारेमा धेरै जानकारी त दिएका छैनन् तर उनले आफ्ना फ्यानहरुसँग कसैलाई उक्त कारको बारेमा जानकारी प्राप्त भएमा आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् । उनले उक्त कार व्यवसायीक क्रिकेटर बनेपछि किनेका थिए । उनले एक वेब च्याट शोमा यसको खुलासा गरेका हुन् ।

तेन्दुलकरले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी आज पनि उत्तिकै लोकप्रिय छन् । त्यतिबेला यो कार किन्ने सचिन एक्ला थिएनन् । एक समय थियो मारुति ८०० केवल कार मात्रै थिएन । कैयौँ मानिसहरुको लागि एउटा सपना र चाहनाको प्रतिक थियो ।

सन् २०१४ मा कम्पनीले उक्त कारको उत्पादन बन्द गर्ने निर्णय गरेपछि कैयौँ मानिसहरुले दुख व्यक्त गरेका थिए । धेरै मानिसहरुले आफ्नो मारुती ८०० सँग जोडिएका आफ्ना सम्झनाहरु सामाजिक सञ्जालहरुमा शेयर गरेका थिए । यसबाट पनि थाहा हुन्छ त्यतिबेला उक्त कारको लोकप्रियता कति थियो भन्ने ।

सचिनका अनुसार जब जब उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुँदै गए, उनको घरमा नयाँ कार थपिँदै गए । अन्ततः उनले आफ्नो पुरानो कार बेच्नु पर्यो । उनले आफ्नो कारप्रतिको आकर्षण कसरी पैदा भयो भन्ने पनि बताए, ‘मेरो घर नजिकै एउटा फिल्म हल थियो, जहाँ मानिसरु आफ्नो कारमा बसेर चलचित्र हेर्न आउँथे । म र भाइ बालकोनीमा बसेर घण्टौँसम्म ती कार हेरिरहन्थ्यौँ ।’

सचिन विश्वभर एक सर्वकालीन महान क्रिकेटरको रुपमा सम्मानित छन् । उनले भारतका लागि २०० टेष्ट खेलमा १५ हजार ८३७ रन र ४६३ एकदिवसीय खेलमा १८ हजार ४२६ रन बनाएका छन् । भारतीय क्रिकेट टीमको कप्तानीसमेत गरिसकेका सचिनले सन् १९८९ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी १०० अन्तर्राष्ट्रिय शतक बनाउने विश्वका एकमात्र क्रिकेटर हुन् । बीबीसी हिन्दी

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार १५:०९