सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

 बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका २८ जना एकै दिन कोरोनामुक्त

सांसद कृष्णा केसी पनि मुक्त

बाँके । बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका २८ जना कोरोनामुक्त भएका छन्।

खुला कारागार गनापुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, आइसोलेसन केन्द्र आदर्शनगर, होटल सिटी प्यालेस, लायन्स डेन्टल अस्पताल आइसोलेसनमा बसेर उपचार गराएका संक्रमित कोरोनामुक्त भएर बिहीवार घर जान लागेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

प्रदेश ५ का सांसद कृष्णा केसी (नमुना) पनि कोरोनामुक्त भएकी छन्। कोरोना पुष्टि भएपछि उनी २२ साउनमा भेरी अस्पतालको आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकी थिइन्।

उनमा संक्रमण भएपछि लक्षणसमेत देखिएको थियो। केसीले कोरोनाका बिरामीलाई उपचार गर्न आवश्यक पर्ने प्लाज्मा दिने घोषणा गरिसकेकी छिन्।  कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कोरोनामुक्त हुनेमा १२ जना महिला छन्।

कोरोनामुक्त हुनेमध्ये केही बाँके जिल्ला कारागारका कैदीबन्दी भएको श्रेष्ठले बताए। बाँकेका २६३ जना विभिन्न आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। बाँकेका ७६३ जनामा कोरोना पुष्टि भएकोमा ४९६ जनाले कोरोना जितेका छन्।

अन्य जिल्लाका तीन जना पनि यहीँको आइसोलेसनमा बसेर उपचार गराइरहेका छन्। बाँकेमा अहिलेसम्म दुई महिलासहित चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:४२