सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोकको पहिरोमा आज थप ३ शव भेटिए, मृतकको संख्या २८ पुग्यो

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

एक बालक र दुई महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो ।

यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यसअघि २५ जनाको शव भेटिएको थियो भने ११ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् ।

बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०९:०८