सूचनाको शक्ति - The Power Of Information

        

दुर्गमका दुःख

नौ वर्षमा पनि बनेन स्वास्थ्य चौकी भवन, बिरामीलाई डोकोमै बोक्नुपर्ने बाध्यता

फाइल तस्वीर

जाजरकोट । देशमा तीन तहका सरकार गठन भएसँगै केही समय पहिले समृद्धिका नारा चोकचोक तथा बाटोघाटोमै घन्किने गरेका थिए । देशमै रोजगारीको भरपुर व्यवस्था गर्ने, देशलाई सिंगापुर बनाउने अनि भोकमरी र गरिबीका कारण कसैले मृत्युवरण गर्नु नपर्ने भन्ने त्यस समयका नारा अहिले भने हराए । अहिले नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवा नपाउँदा बिरामीलाई डोकोमा बोकेर सदरमुकाम पुर्याउनुपर्ने बाध्यता छ ।

हिजो चुनावताका शिक्षा र स्वास्थ्यको सर्वसुलभ उपलब्धताको मुख्य नारा अघि सारेर जनताको बीचमा गएका मुख्य राजनीतिक दलहरू अहिले जनताको समस्याभन्दा अन्य काममा व्यस्त भएको पाइन्छ । ग्रामीण क्षेत्रमा जिवीकोपार्जन गर्दै आएका नागरिकहरू भोटको लागि मात्र प्रयोग हुँदै आइरहेका छन् भन्ने यथार्थ यसबाट पनि बुझ्न सकिन्छ । सरकारका तिनै तहका निर्वाचन सम्पन्न भएको वर्षाैं पुगिसक्दा पनि नागरिकका समस्या जहाँको त्यहीँ छन् ।

एकातिर आफ्नै सुविधाको यस्तो अवस्था छ भने अर्कातर्फ राज्यले सञ्चालन गरेका महत्वपूर्ण विकासका आयोजनाहरू समेत अलपत्र पर्दा नागरिकहरू निराश भएका छन् । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई गत २३ फागुनमा सुत्केरी व्यथा लाग्यो । नेपालीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगियो । त्यहाँ उपचार हुन नसकेपछि वडाध्यक्ष रामबहादुर नेपालीको पहलमा राष्ट्रपति उद्वार कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल पुर्याइयो ।

नेपालीले तीन दिनपछि कर्णाली प्रदेश अस्पतालमा बच्चा जन्माइन् । गाउँबाट ३० मिनेटको दुरीमा रहेको स्वास्थ्य संस्थामा प्रसूति वार्डकै अभाव भएको भन्दै नेपालीलाई घर फर्काएको उनका आफन्त लालबहादुर नेपालीले बताए । जुनिचाँदे–१, मजकोटस्थित बडकुले स्वास्थ्यचौकीको प्रसूति भवन निर्माण कार्य सुरु भएको नौ वर्ष बितेको छ । निर्माण व्यवसायी समिति यहीँ छन् । तर, के कति काम भयो भन्ने विषयमा नागरिक बेखबर छन् ।

वडाध्यक्ष रामबहादुर नेपाली भन्छन्, ‘साबिकको मजकोट गाविस–१ मा निर्माणाधीन भवन ठेकेदारको लापरवाहीका कारण काम अलपत्र परेको छ, ठेकेदारले काम लगाएका कामदारलाई ज्याला समेत दिएका छैनन् ।’ काम सुरु भएको धेरै वर्ष भएकोले स्थानीयहरूले काम गरेको ज्याला तथा सामग्री खरिदको पैसासमेत नपाएको उनले गुनासो गरे । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदासमेत स्थानीय प्रशासन मौन रहेको उनको आरोप छ ।

नेपाल सरकार, गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची जिल्ला प्रशासनमार्फत संकलन गरे पनि ठेकेदारलाई कारवाहीको कुनै पहल नभएको वडाध्यक्ष नेपालीले बताए । फ्राइन्डस् कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थाम छ । एक वर्षभित्र काम सम्पन्न गर्नेगरी ०६९ वैशाख २१ मा सम्झौता गरेको ठेकेदार कम्पनी अहिले बेपत्ता छ । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका अनुसार १ करोड २७ लाख ११ हजारमा जिम्मा लिएको ठेकेदार कम्पनी बेपत्ता भएपछि काम अलपत्र अवस्थामा छ ।

कार्यालयमा भएको सम्झौताअनुसार वित्तीयतर्फ १० दशमलव शून्य ६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलम कुमार डंगोलले जानकारी दिए । कार्यालयमा सम्झौता भएको रकममध्ये २ लाख ५९ हजार ७४५ रुपैयाँ भुक्तानी भएको उनको दाबी छ । ठेकेदार कम्पनीले समयम काम सम्पन्न नगरेपछि सुरक्षित प्रसूति सेवालगायत कार्यालयका नियमित कार्यको सेवा दिन पनि सास्ती खेप्दै आएको जुनिचाँदे गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक योगेश्वर बस्नेतले बताए ।

ठेकेदार कम्पनीले समयमै भवन निर्माणको काम नगर्दा संस्थाबाट हुने सुत्केरी सेवा प्रभावकारी हुन नसकेको बस्नेतको भनाइ छ । गाउँपालिकामा प्राप्त जनशक्ति हुँदासमेत संरचनाको अभावमा स्थानीयलाई सेवा दिन सास्ती भएको उनको भनाइ छ । ठेकेदार पुष्पराज बजगाईंले भवन निर्माणमा काम गरेका कामदारलाई २३ लाख रकमसमेत नदिई बेपत्ता भएको स्थानीय अबर बुढाले जानकारी दिए ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका सञ्चालक बजगाईंले कामको जिम्मा दिएको पैसा नदिएर फरार भएको बुढाले बताए । ठेकेदारले सिमेन्ट डण्डीको जिम्मा आफूलाई दिए पनि डण्डी सिमेन्टमा खर्च भएको १० लाख ५० हजार रकम आफूलाई नदिएको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले बताए । यस्तै भवनको बालुवा, गिट्टी, ढुंगा व्यवस्थापनको जिम्मा पाएका गोरे बुढाको उक्त शीर्षकमा खर्च भएको ५ लाख ४० हजार रकम नपाएको गुनासो छ ।

झ्यालढोका बनाउने जिम्मा लिएका अमरबहादुर बुढा, गोबिन्द बुढाको ३ लाख ८० हजार रकम ठेकेदारले ठगी गरेको गोरे बुढाको भनाइ छ । भवनको ‘वाल’ निर्माणको जिम्मा लिएका कर्णबहादुर सुनारले चार लाख पाउन बाँकी छ । काम गरेर छाक गुजारा गर्ने नागरिकको पैसा ठगी गरी ठेकेदार सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ । करिब नौ वर्षदेखि अलपत्र परेको स्वास्थ्यचौकी भवन निर्माणका लागि कार्यालयले ताकेता गरिरहेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेतले बताए ।

गाउँपालिकाको बड्कुलेमा रहेको स्वास्थ्यचौकी निर्माणको लागि सम्बन्धित कार्यालयमा ताकेता गरिएको उनको भनाइ छ । निर्माणाधीन भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएकोले काम सुरु गर्नका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बस्नेतले बताए । गाउँपालिकामा लामो समय भवन निर्माण नहुँदा सुत्केरी महिलाहरूलाई सास्ती खेप्नुपरेको उनले बताए । सुत्केरीका लागि प्रसूति भवनसम्म नहुँदा डोको स्ट्रेचरमा बोकेर खलंगा ल्याउनुपर्ने बाध्यता छ ।

‘एउटा भवनको लागि नौ वर्ष लाग्ने ?’ उनले आक्रोश व्यक्त गरे । ठेक्का तोड्नका लागि संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले कुनै पहल नगरेको कार्यबाहक अध्यक्ष बस्नेतको गुनासो छ । जिल्लामा एकै समयमा सुरू भएका नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकी निर्माण कार्य सम्पन्न भएको छ । यस्तै जिल्लाको दशेरामा रहेको स्वास्थ्यचौकी भवन निर्माण भएर हस्तान्तरण भइसकेको छ । साथै स्वास्थ्य सेवा कार्यालय जाजरकोटको निर्माणाधीन भवन निर्माण कार्य सम्पन्न भएको छ ।

घरंगाको काम सुरु

जिल्लाको कुशे गाउँपालिका–६ घरंगा स्वास्थ्यचौकीको काम सुचारु भएको छ । संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतका अनुसार घरंगा स्वास्थ्यचौकीको भवन निर्माणको काम सुचारु भएको छ । ०७१ भदौ २० मा भएको ठेक्का सम्झौतामा तेस्रोपटक म्याद थप गरिएको छ तर अहिले काम सुचारु रहेको कार्यालय प्रमुख डंगोलले जानकारी दिए । कार्यालयमा लोहनी एन्ड ब्रदर्स र एमपी कन्स्ट्रक्सन जेभी बाँकेका व्यवसायी मोहनकुमार आचार्यलाई बोलाएर मंसिर मसान्तसम्म काम सम्पन्न गर्न कागज गरी सुचारु गरिएको हो ।

उक्त भवन २ करोड २५ लाख ४३ हजार ३६१ लागतमा निर्माण हुनेछ । नलगाड नगरपालिकामा रहेको दल्ली स्वास्थ्यचौकीको भवन निर्माणका लागि ०६८ असार २२ मा सम्झौता भएको थियो । उक्त कार्य जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौंले सम्पन्न गरेको छ । सोही समयमा ठेक्का सम्झौता भएको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्यचौकीको भवन भने निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ ।

यसैक्रममा निर्माण हुन नसकेका स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिकामा पर्ने बड्कुले स्वास्थ्यचौकी ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढेकोे कार्यालयले जनाएको छ । स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा लिएको फ्राइन्ड्स् कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई ताकेता गर्दा पनि अटेरी गरेकोले तत्काल सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख कार्यालय प्रमुख डंगोलले बताए ।

‘कार्यालयले बैंक खाताको रकम फिर्ताको लागि पत्र पठाएकोले अब तत्काल प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘प्रदेशकै सबैभन्दा समस्या जुनिचाँदेमा देखिएकोले यसलाई भदौ महिनाभित्र निकास दिन्छौँ ।’ भवन निर्माणको सम्झौता भएको नौ वर्ष बित्दासमेत काम सम्पन्न नगर्ने ठेकेदारको तत्काल ठेक्का सम्झौता तोड्ने उनको दाबी छ । कार्यालयले भदौ महिनामा स्थलगत कर्मचारी पठाएर मूल्याकन गरेर सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढाउने बताएको छ ।

नौ वर्षमा १० ओटा पत्र

संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय सुर्खेतले नेपाल बंगलादेश बैंक लिमिटेड शाखा नेपालगञ्जलाई नौ वर्षमा १० ओटा पत्र पठाएको छ । कार्यालयले ६ पटक म्याद थप तथा रोक्का, दुईपटक फिर्ता माग, एकपटक रोक्का, १४ साउनमा पेश्की जमानत रकम उपलब्ध सम्बन्धमा बंैकलाई पत्र पठाएको थियो । समन्वय इकाइले पठाएको पत्रलाई बैंकले बेवास्ता गर्दै कुनै जानकारी नपठाएको कार्यालयको दाबी छ । कार्यालयबाट १४ साउनसहित १० पटक पत्र पठाएको कार्यालय प्रमुख डंगोलको भनाइ छ ।

‘साविक मजकोट गाविस–१ मा निर्माणाधीन अलपत्र भवनको ठेकेदार बेपत्ता हुँदा रकम फिर्ताको चिठी लेख्दा बैंकले कुनै प्रतिक्रिया पठाएन,’ उनले भने, ‘बैंकले जमानतसहित रकम उपलब्ध गराए काम गर्न सजिलो हुने थियो ।’ उता नेपाल बंगलादेश बैंक लिमिटेड नेपालगन्जले कार्यालयलाई जवाफ पठाउँदै आएको बताएको छ । कार्यालयमा आएको पत्रको जवाफ तत्काल पठाएको शाखा प्रबन्धक केशव गौतमले दाबी गरे । ‘संघीय आयोजना निर्माण इकाइ कार्यालयलाई नौपटक जवाफ दिएँ’ उनले भने, ‘साउन १४ मा आएको पत्र मलाई जानकारी नभएकोले भोलि मात्र खोजेर जवाफ दिन्छु ।’ रासस

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०८:४५