सूचनाको शक्ति - The Power Of Information

        

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती बुधबार नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएन ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उनको निधन भएको थियो । तीस वर्षको उमेरमा निधन भएका मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानको श्रेयसमेत उनैलाई जान्छ । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए । भानुभक्तलाई चर्चामा ल्याउने काम पनि उनैले गरेका थिए ।

भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् । शृंगारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेखेको गजल व्यंग्यात्मक शैलीका समेत हुन्थे ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार ०८:०४