सूचनाको शक्ति - The Power Of Information

        

विश्व फोटोग्राफी दिवस : बझाङमा उत्कृष्ट फोटोहरु प्रदर्शन

बझाङ । १८१ औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महांसघ बझाङ शाखाले विभिन्न कार्यक्रम गरि मनाएको छ । शाखाले लकडाउन अवधीभर खिचिएका उत्कृष्ट फोटोहरु प्रदर्शन गरेको छ ।

प्रदर्शन गरिएका फोटोहरु स्थानीय तहहरुमा रहेका धार्मिकस्थल, पुरातात्विक, पर्यटकीय स्थल र संस्कृति झल्कने खालका रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिदै कान्तिपुर दैनिकका बझाङ संवादाता बसन्तप्रताप सिंहले बझाङमा पनि पहिलो पटक फोटोग्राफी दिवस मनाउँदा खुसी लागेको बताए ।

फोटो भनेको समाचारको सास भएकाले फोटोको महत्व बुझन सके शब्दभन्दा फोटोले बढी प्रस्ट पार्नेसमेत सिंहले बताए । सिंहले फोटोलाई मुस्कानको संज्ञा पनि दिएका थिए । कार्यक्रममा बोल्दै सुर्मा गाउाँपालीकाका अध्यक्ष नरबहादुर बोहोराले समाचारमा अक्षरले लेखेको भन्दा फोटोले धेरै कुरा प्रस्ट्याउने बताए ।

स्थानीय तहहरुमा रहेको तथा बझाङ जिल्लालाई आर्थिक तथा सामाजिक रुपान्तर गर्ने खालका फोटोहरु खिच्न र आफुहरु पनि सहकार्य तथा समन्वयका लागि तयार रहेको पनि बताए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भैरबबहादुर सिंहले समाचारभन्दा पनि फोटोले सबै कुरा बोल्ने हुँदा फोटो समाचारलाई थप प्राथमिकता दिनुपर्ने बताए ।

विशेषगरी बझाङ जिल्लाका पनि ऐतिहासिक, पुरातातिक, कला र भेषभुषाका साथ साथै पर्यटकीय ठाउँहरुलाई समेत फोटोले चिनाउन नेपाल फोटो पत्रकार महांसघलाई आग्रह गरेका छन् । फोटोको माध्यमबाट बझाङ जिल्लालाई चिनाउनुपर्ने, फोटोले सबै मान्छे बुझने भएकाले फोटोमा विशेष ध्यान दिन सबै पत्रकारहरुलाई आग्रह गरे ।

साथै आगामी दिनमा आफुबाट हुने सहयोगमा आफु सदैव लाग्ने प्रतिवद्धता ब्यक्त गरे । नेपाल फोटो पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष सत्यराज सिंहले कोरोना माहामारीका कारण यसबर्ष धेरै कामहरु तथा धेरै ठाउँहरुका फोटोहरु खिच्न नपाएकोले आगामी दिनमा बझाङ जिल्लालाई पर्यटकीय र धार्मिस्थलका रुपमा चिनाउन महासंघ लागिपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खडकबहादुर खड्का, नगरपालीकाका मेयर उपमेयर र गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ बझाङ शाखा अध्यक्ष तथा जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १६:०५