सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

बझाङमा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना

बझाङ । जिल्ला स्वास्थ्य कार्यालय बझाङमा रक्त सञ्चार केन्द्रको ब्लड बैंक स्थापना भएको छ । ब्लड बैकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भैरबबहादुर सिंहले अब रगत अभाव कारणले कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने बताए ।

रगत अभावका कारण विरामीको ज्यान गएको विगतलाई स्मरण गर्दै स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको उपचारमा अस्पताल सदैव समर्पित हुनुपर्ने पनि बताए । उनले सिंहले पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको भए पनि सबै ठाँउमा सहज पहुँच नभएकोमा चिन्ता व्यक्त गरे ।

यसअघि अस्पतालमा ब्लड बैक नहुँदा जटिल प्रकारका शल्यक्रिया भएका र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो । ब्लड बैक नभएको र ब्लड दिने मानिस नपाउँदा नेपाली सेनाले रक्तदान गर्दै आएको थियो । ब्लड बैंक स्थापनापछि सामान्य शल्यक्रिया गरेपछि रगत आवश्यकता परेमा मानिसहरु खोज्दै हिडनुपर्ने अवस्था अन्य भएको छ ।

‘अब ब्लड बैंक स्थापना भएपछि बिरामीहरुलाई निकै सहज हुनेछ,’ स्थानीय प्रविन्द्र धामीले भने, ‘रगत आवश्यक परे रगत दिने मानिस खोजेर हिडनु पर्थ्यो । मानिस पाए पनि समुह नमिल्ने, कति बेला रक्तदान गर्ने मानिस नमिल्ने भएपछि रगत अभावले सयौंको ज्यान जाने गरेको थियो । अब ब्लड बैकको स्थापनासँगै यो समस्या हटेको छ ।’

ब्लड बैक स्थापनाको अवसरमा युवाहरुले रक्तदानसमेत गरेका छन् । सांसद विकास कोषको रकम बाट ब्लड बैंक स्थापना गरिएको हो । नेपाली सेनाको भरमा ज्यान बचाउँदै आएका बझाङवासी ब्लड बैक स्थापना भएसँगै खुसी भएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १५:५०