काठमाडौं । संघीय संसद्का सदस्यहरुका लागि नेपालको परिवर्तित नक्सा राखेर बनाइएको लोगो विवादमा परेपछि फिर्ता गरिएको छ।
वागमती प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयले बनाएको लोगोबारे व्यापक विवाद भएपछि अर्को बनाउने गरी संसद् सचिवालयले फिर्ता गरेको हो।
सचिवालयले हिजो कार्यालयका प्रतिनिधिलाई बोलाएर सभामुख र सचिवालयका कर्मचारीबीच भएको छलफलपछि लोगो फिर्ता गरेर नयाँ बनाउने निर्णय गरेको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने, “डिजाइन जस्तो दिइएको छ, त्यस्तै बनाउन भनिएको छ। बजेट पहिले नै दिइसकेकाले फेरि दिइँदैन, लोगो उहाँहरुले नै पुनः बनाउने सहमति भएको छ।”
सचिवालयका अनुसार, एउटा लोगो बनाउन ५ हजार ५२७ रुपैयाँ खर्च भएको थियो। लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ।
सांसदहरुले लगाउने र रोष्ट्रममा प्रयोग हुने लोगो बनाउन कलाकार टेकवीर मुखियाले डिजाइन गरेका थिए। उक्त डिजाइन कालिगढहरुबाट हातले नै बनाउने गरी घरेलु उद्योगलाई दिइएको थियो।
कार्यालयले बनाएको लोगो आइतबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई हस्तान्तरण गरिएको थियो। नयाँ लोगोसहितका ब्याच करीब ७० जना सांसदले लगेका थिए।
तर, साजसज्जाको हिसाबले लोगो आलोकाँचो रुपमा भद्दा बनाइएको र नेपालको नक्सा र झण्डा नै बिग्रिएको भन्दै चौतर्फी आलोचना भएको थियो। कलाकार मुखियाले पनि आफ्नो डिजाइन लिएर एकदमै कच्चा काम गरिएको र आफ्नो बदनाम भएको भन्दै आपत्ति प्रकट गरिसकेका छन्।
संघीय संसद् सचिवालयको विज्ञप्ति:
सत्यपाटी ।