सूचनाको शक्ति - The Power Of Information

        

पर्सामा एकैदिन १३४ जनामा कोरोना पुष्टि, पत्रकार र प्रहरी पनि संक्रमित

पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार र प्रहरीसहित १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा.निरज सिंहका अनुसार संक्रमित हुनेहरुमा १०१ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् ।

नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमबार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १२३ जनासहित थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी छन् ।

सान्भी एफएमका ३१ बर्षका १ जना प्रबन्ध निर्देशक, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताका ७ जना प्रहरी रहेका छन् भने वीरगन्ज ४ बिर्ताका एक जना ३२ बर्षका डाक्टरसमेतमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १८ जना रहेका छन् भने पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका २५ जना रहेका छन् । त्यसैगरी बारा जिल्लाका विभिन्न ठाँउका ११ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

साउन ३० गते देखि भदौ ०१ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६६ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पनि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर सिंहले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १३:३७