सूचनाको शक्ति - The Power Of Information

        

लाहपर्वाही

नेपालको नयाँ नक्साङ्कित संघीय संसदको लोगोमा सांसदहरूको असन्तुष्टि

काठमाडौं । नेपालको नयाँ नक्साङ्कित अद्यावधिक संसदको लोगोका विषयलाई लिएर सांसदहरूले असन्तुष्टि जनाएका छन् । लोगोमा नेपालको नक्साको आकार नमिलेको, लोगो भद्दा भएको भन्दै यस्तो लोगो कसरी लगाएर हिँड्नेमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिपक्षी दलका सांसदमात्र होइन सत्तारूढ दल नेकपाकै सांसदले पनि लोगोमा चित्त बुझाएका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले लोगो लगाएर हिँड्न सकिने खालको नभएको बताए । उनले लोगोले संसद्कै उपहास गर्ने हुँदा लगाएर हिँड्न सक्ने अवस्था नरहेको बताए ।

‘नेपालको नयाँ नक्सा समावेश गर्ने प्रयोजनका लागि नयाँ लोगो बनाइएको छ । त्यसैलाई ध्वस्त बनाइएको छ,’ उनले भने, ‘त्यसकारण यसको छानबिन हुनुपर्छ । लोगो परिवर्तन हुनुपर्छ ।’ उनले लोगो बनाउँदा लापरबाही भएको भन्दै लोगोमा सुनचाँदी प्रयोग गरिएकामा पनि असन्तुष्टि जनाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संसदको लोगो लगाउन लायकको नभएको बताइन् । उनले नयाँ लोगो आफूले नलिएको भन्दै लोगो लिन पनि मन नभएको बताइन् । ‘यो लोगो लगाएर हिड्न लायककै छैन । फिनिसिङ एकदमै भद्दा छ,’ उनले भनिन्, ‘नेपालको नक्सा पनि चिनिँदैन । जे कुरा पनि लापरबाही गर्नु भएन नि !’

सांसद संग्रौलाले सच्याएर अर्को राम्रो लोगो बनाउनुपर्ने बताइन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका मात्र होइनन सत्तारुढ दल नेकपाकै सांसद पनि नयाँ लोगोप्रति सन्तुष्ट छैनन् । नेकपाका सांसद विजय सुब्बाले यस्तो लोगो कसरी स्वीकृत भयो होला भन्दै प्रश्न गरेका छन् ।

‘यतिसारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनु ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला ?’ लोगोबारे उनको टिप्पणी छ, ‘ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झन्डाको यस्तो अपमान गरेकामा दण्डित हुनुपर्छ ।’

साउन ३२ गते नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साङ्कित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो । संघीय संसदका महासचिव भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो ५ हजार ५२७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए ।

८७ वर्षीय टेकवीर मुखियाले संसदको लोगो डिजाइन गरेका हुन् । यसअघिको लोगो पनि उनैले डिजाइन गरेका थिए । लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरमा रहेका कालिगडहरुले हातले कुँदेर (हस्तकला) तयार गरेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १२:१३