सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा खाना पकाउने ग्याँस अभाव

फाइल तस्वीर

बझाङ । बझाङमा खाना पकाउने एलपी ग्याँस अभाव देखिएको छ । लगातारको बर्षासँगै आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन् । यातायातका साधन चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ ।

सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्याँस लगायत अन्य खाद्यान्नको पनि अभाव देखिएको छ । एकातिर कोरोनाको सन्त्रास र अर्कोतर्फ दैनिक उपभोग्य वस्तुहरुको समेत बजारमा चरम अभाव हुँदा सर्वसाधारणहरु मर्कामा परे छन् । कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै सरकारले लकाउन गरे पनि खाद्यान्न तथा अत्यावस्यक सामान बोक्ने यातायातका साधन चलिरहेका थिए ।

पहिरोले राजमार्ग बन्द भएपछि ग्याँस अभाव भएको छ । ‘दुई दिन भयो, होटलमा ग्याँस सकिएको छ । बजारमा ग्याँस छैन । पहिलेको जसरी दाउरा पनि आउन छोडेको छ,’ सदरमुकाम चैनपुरमा होटल व्यवसाय गरिरहेका व्यवसायी अमर धामीले गुनासो गर्दै भने, ‘गाडी चलेका कारण पहिले वास्ता गरिएन । दुई सिलिण्डर थिए सकिए ।’

उनले आफ्नै परिवारका लागि पनि खाना पकाउन पनि समस्या भएको छ । यस्तै अर्का व्यवसायी सुमन बोहराको पनि गुनासो उस्तै छ । ग्याँस अभाव हुन थालेको र दाउरा बेच्न पनि नआउने भएकाले होटल नै बन्द गर्नुपर्ने उनको भनाई छ । सेती नदीले बगाएको जयपृथ्वी राजमार्गको जालेबगरमा बाटो बने पनि सुवेडा नजिकै पहिरो जाँदा फेरि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएको हप्तौं भइसक्दा पनि सडक सुचारु हुन सकेको छैन । विभिन्न ठाँउमा पहिरो जाने गरेको र अवरुद्ध हुँदा बझाङवासी मार्कामा परेका छन् । सडक सुचारु नहुँदा चैनपुरमा दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ । सडकका यस्तै अवस्था रहे केहिदिनमा खाद्यान्न पनि अभाव हुने देखिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १०:४०