सूचनाको शक्ति - The Power Of Information

        

बन्दाबन्दीमै छ करोड बढीको तरकारी बिक्री

सल्यान । कपुरकोट गाउँपालिका–१ की दिलमाया घर्तीले तरकारी खेती गर्न थालेको १२ वर्ष भएको छ । उनले चार रोपनी जग्गामा टमाटर, सिमीलगायत तरकारी लगाउँदै आएकी छन् । उनले भनिन्, ‘तरकारी बिक्री गरेर वार्षिक आठ लाख कमाइ गरेकी छु ।’

कपुरकोटकै उज्जर सिङ पुनले यस वर्ष पाँच रोपनीमा अदुवा खेती र पाँच रोपनीमा टमाटर खेती गरेका छन् । उनले वार्षिक छ लाख कमाइ गरेको बताए । उनी कपुरकोट क्षेत्रको प्रतिनिधि पात्र हुन् । यहाँका अधिकांश किसान मौसमी बेमौसमी तरकारी खेतीमा सहभागी भएका छन् ।

बन्दाबन्दीले जेठको मध्यसम्म तरकारी बिक्री नभएर समस्यामा परेका सल्यान कपुरकोटका किसानहरू तरकारीले उचित मूल्य पाएपछि अहिले दङ्ग छन् । बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको कपुरकोटमा कोरोना सङ्क्रमणबाट जोगिन सुरक्षा सावधानीसहित तरकारी बिक्री वितरण भइरहेको छ ।

कपुरकोट–३ का खडकबहादुर वली कोरोनाका कारण बन्दाबन्दी हुँदा तरकारी बिक्री हुँदैन कि भनेर चिन्ता थियो । उनले भने, ‘तरकारी बजार सञ्चालन भएपछि तरकारी बिक्री गर्न भ्याइनभ्याई छ ।’ कपुरकोट कृषि उपज बजार केन्द्रमा बन्दाबन्दीको समयमा पनि २४ हजार २३२ क्वीन्टल तरकारी जिल्लाबाहिर निकासी भएको छ ।

कोरोना भाइरसबाट जोगिन सुरक्षा सावधानी अपनाएर तरकारी बिक्री वितरण भएको छ । कपुरकोट तरकारी बजार सङ्कलन केन्द्रका सचिव तिलक शर्माले बन्दाबन्दीका कारण सुरुमा तरकारी बिक्री नहुँदा किसान समस्यामा परेपनि अहिले भने तरकारीले उचित मूल्य पाइरहेको बताए ।

उनका अनुसार तीन महिनाको अवधिमा छ करोडभन्दा बढीको ताजा तरकारी निकासी भएको छ । तरकारी ढुवानी गर्दा बाहिरी जिल्लाबाट कामदारहरू ल्याउन नपाइने र तरकारी बोक्ने गाडीको परीक्षण तथा सुरक्षित सामग्रीको प्रयोग गरेर मात्र पठाउने कपुरकोट गाउँपालिकाले व्यवस्था गरेको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले सङ्क्रमण नफैलियोस् भनेर व्यक्तिहरूको विवरण खुलाई गाउँपालिकामा सिफारिस गर्ने र स्वास्थ्य शाखासँग समन्वय गरेर कृषि बजार सञ्चालनमा आएको बताए । किसानका तरकारी बिक्रीलाई सहज बनाउन र कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १०:१०