बाँके । बाँके जिल्लामा माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको छ । कोरोना भाइरसको उच्च जोखिममा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको हो ।
राजनीतिक दल, स्थानीय तहका प्रमुखसहितको जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बैठकले माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
उनका अनुसार बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि नेपाल–भारत सीमा नाका जमुनाहा र अनय छोटी नाकाहरुबाट नेपालतर्फ आयात हुने माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाउने निर्णय भएको छ ।
मान्छेमात्र नभएर आयातित उपभोग्य वस्तुबाट पनि कोरोना सङ्क्रमणको जोखिम रहेकाले भारतीय सीमावर्ती क्षेत्रबाट आयात हुने माछा, दूध र हरियो तरकारी आयातमा रोक लगाइएको प्रजिअ कुरुम्बाङ्गले जानकारी दिएका छन् ।
सुरक्षा मापदण्डलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पनि फलफूल, माछामासु, अण्डा, कुखुरा, चल्ला र हरियो तरकारी आयातमा रोक लगाइएको प्रजिअ कुरुम्बाङ्गले बताए । उनले कुनै पनि अवैधरुपमा आयात हुन नदिन सीमावर्ती क्षेत्रमा सुरक्षा कडाई गरिएको पनि जानकारी दिए ।
सत्यपाटी ।