सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकद्वारा पुनर्कर्जा आवेदन खुल्ला

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन खुल्ला गरेको छ । बैंकहरुले पाउने पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले आजदेखि असोज १४ गतेसम्म आवेदन खुल्ला गरेको हो ।

नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा लिएर बैंकहरुले व्यवसायीहरुलाई उक्त कर्जा प्रदान गर्नेछन् । नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधिअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका आवेदन खुल्ला गरेको हो ।

सरकारले कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटन लगायतका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने चालू वर्षको बजेट भाषणका क्रममा घोषणा गरेको थियो ।

आवेदन दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजात

(क) नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचाको आवेदन ।
(ख) इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय ।
(ग) शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची ।

आवेदनको लागि पालना हुनुपर्ने अन्य शर्तहरु

(क) संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।
(ग) एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकरवित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।
(घ) पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहकरऋणी समेटिएको हुनुपर्ने ।
(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १५:११