सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा प्रहरी अप्रेसन

दुई महिनामै पक्राउ परे ५८ ‘मोस्ट वान्टेड’

बाँके । बाँकेमा लामो समयदेखि फरार सर्वाधिक खोजी (मोष्ट वान्टेड) अपराधीहरूलाई धमाधम पक्राउ गर्न थालेका छन् । लकडाउनका कारण मानिसहरुको चहलपहल घटेको र भारतसँगको खुल्ला सीमा बन्द भएको मौका छापेर प्रहरीले फरार अपराधीहरूलाई पक्राउ पर्न थालेका हुन् ।

लकडाउन कारण उत्पन्न असहज परिस्थितिमा धेरै दिन बाहिर लुकेर बस्न सम्भव नभएपछि अपराधीहरू आफ्नै घर तथा आफन्तकहाँ लुकेर बस्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले असारको पहिलो सातादेखि विशेष टोली नै परिचालन गरेर फरार अपराधीहरू पक्राउ गरिरहेको छ ।

असार र साउन महिनामा मात्रै बाँके प्रहरीले ५८ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ । अदालतबाट मुद्दाको फैसला भएर कैद तथा जरिवाना तोकिए पनि फरार भएका अपराधीहरूलाई प्रहरीले खोजीको पहिलो सूचीमा राखेको छ ।

त्यसैगरी विभिन्न अपराधमा संलग्न भएका कारण अदालतमा मुद्दा दायर भएका, तर पक्राउ नपरेर अभियुक्तहरूको खोजी कार्य पनि प्रहरीले तीव्र पारेको बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । असार र साउन महिनाको अवधिमा पक्राउ परेका ५८ जनामध्ये २९ जनालाई बाँके प्रहरीले लामो समयदेखि खोजिरहेको थियो ।

फरार रहेका अपराधीहरू हत्या, अपहरण, बम विष्फोट, ज्यान मार्ने उद्योग, चोरी डकैती र बलात्कारजस्ता जघन्य अपराधिक गतिविधिमा संलग्न थिए । ती अपराधीहरूलाई पक्राउ गरी अदालतमा पेश गर्ने र अदालतको आदेशबाट कारागार पठाउने गरिएको छ ।

प्रहरीले फरार अभियुक्तको खोजी अभियान तीव्र पारे पछि सशस्त्र भूमिगत समुह ज्वाला सिंह समुहका बाँके इन्चार्ज भई हत्या, अपहरण हात हतियार तथा खरखजाना लगायत ९ वटा जघन्य अपराधमा संलग्न रही एक दशकदेखि फरार रहेका राजेश यादव र उनका मुख्य सहयोगी केशव राढ पक्राउ परेका छन ।

पक्राउ परेका यादव र राढ २०६५ देखि २०७२ सालसम्म बाँकेमा भएका हत्या, अपहरण र बम बिस्फोट जस्ता ९ वटा जघन्य अपराधमा संलग्न थिए । जिल्ला अदालत बाँकेबाट अपहरण, बम विस्फोटको मुद्दामा ५ वर्ष ६ महिना कैद र ४५ हजार जरिवाना भएको छ । हत्या, अपहरण हात हतियार तथा खरखजानासम्बन्धी ५ वटा मुद्दा अदालतमा विचाराधीन छन् ।

अपराधमा संलग्न भएका अपराधीहरू पक्राउ नपर्दा शान्ति सुरक्षाका लागि चुनौती बढ्ने भएकाले कोरोनाको संक्रमण फैलने जोखिम सामना गर्दै बाँके प्रहरीले मोष्ट वान्टेड फरार अपराधीहरूलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुरु गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १४:४९