सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना संक्रमित संख्या ७२६ पुग्यो, मास्क नलगाएपछि जरिवाना

बाँके । बाँकेमा आज आइतबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चार महिला रहेका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँके र सल्यानको ४०० स्वाब परीक्षण गर्दा बाँकेका मात्रै २० जनामा संक्रमण पुष्टि भएको छ भने कपुरकोट–३ सल्यानका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण भएको छ । जसमध्ये सशस्त्र प्रहरी गुल्म ४२ नम्बरका १५ जना, ग्लोबल आइएमई बैंकका तीन जना, खजुरा र कोहलपुरका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म २९ हजार स्वाब परीक्षण गरिसकिएको छ । तीमध्ये १ हजार २६४ जना संक्रमित पुष्टि भएका छन् । आइतबार थप भएका संक्रमितसँगै बाँकेमा कुल संक्रमितको संख्या ७२६ पुगेको छ । बाँकेमा हालसम्म ४४४ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ ।

मास्क नलगाएपछि जरिवाना

कोरोना भाइरस नियन्त्रणका लागि बाँके प्रशासनले बजार अनुगमन थालेको छ । बजार अनुगमनका क्रममा पसल, व्यवसायीहरुले माक्स नलगाएको भेटिए तत्काल कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । उनले भने, ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बजार अनुगमन थालिएको छ । सो क्रममा माक्स नलगाई पसल सञ्चालन गरेको पाइएमा जरिवानासहित तत्काल पसल बन्द गरिनेछ ।’

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको निर्णय अनुसार खोल्न बन्देज गरिएका पसल खोलेको भेटिए तत्काल जरिवानासहित पसल बन्द गराइने बजार अनुगमन समितका सदस्य भीम रानाभाटले जानकारी दिएका छन् । उनका अनुसार प्रशासनको निर्णय विरुद्ध खोल्न बन्द गराइएका पसल ब्यवसाय खोलेको पाइएमा जरिवाना स्वरुप एकसय रुपैयाँ तिराई पसल बन्द गरिने उनले बताए ।

जानकी गाउँपालिका बन्द

समुदायमा कोरोना फैलिएपछि बाँकेको जानकी गाउँपालिकाका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । कोरोना भाइरस रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले आज आइतबार रातीदेखि भदौ ५ गतेसम्मा लागि सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । साउन ३२ गते आइतबार रातीदेखि भाद्र ५ गते राती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अत्यावश्यकीय सेवाबाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतवार १६:२२