काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एकपटक ‘डिजिटल आन्दोलन’ चर्केको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान छेडिएको हो ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन् । शीर्ष नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ ।
यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको उनको ‘प्रोफाइल पिक्चर’मा जम्मा दुई लाख ११ हजारभन्दा धेरैले कमेन्ट गरेका छन् भने तीन हजार पटक शेयर भएको छ । यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेपाल प्रहरीको फेसबुक पेजमा लगायतका तस्बिरमा पनि कमेन्ट गरिएका छन् ।
तीमध्ये अधिकांशले निर्मला पन्तको न्यायको माग गरेका छन् । यस्तै फेसबुक प्रयोगकर्ताले गृहमन्त्री रामबहादुर थापा बादलको प्रोफाइल पिक्चरमा पनि निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट वर्षाएका छन् । उनीहरुले निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा सरकार भेटियो, न्याय भेटिएन उल्लेख गरेका छन् । न्यायमा हुने ढिलाई, न्याय अस्वीकार गर्नु सरह हुने कुरामा पनि सरकारलाई खबरदारी गरिएको छ ।
निर्मलालाई न्याय दिन छेडिएको यो डिजिटल अभियानलाई महत्व दिन नेपालका प्रमुख सञ्चार माध्यमहरुलाई पनि सामाजिक सञ्जालबाट आग्रह भइरहेको छ । यस्तै सामाजिक सञ्जालको ग्रुपजस्तै (एमआरआर) मेन्स रुम रिलोडेडबाट पनि यो अभियान चलाइएको छ । युटुयुबमा केही समयअघि विनोद ह्यास ट्याग ट्रेन्डिङमा आएको थियो ।
कमेन्टमा विनोद लेख्ने सो क्रम भारतबाट सुरु भएको थियो । त्यसैगरी अहिले नेपालमा जस्टिस फर निर्मला पन्त ह्यास ट्याग अभियान चलिरहेको हो । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेका छैनन् ।
सत्यपाटी ।