सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति ट्रम्पका भाई रोबर्टको निधन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाईको निधन भएको छ । ७२ वर्षीय रोबर्ट ट्रम्पको मृत्युबारे ह्वाइट हाउसले आइतवार बिहान जानकारी दिइएको हो । बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन । शनिबार न्युयोर्कको एक अस्पतालमा उनको निधन भएको हो ।

रोबर्ट चार भाईबहिनीमध्ये सबैभन्दा कान्छा हुन् । उनी राष्ट्रपति ट्रम्पको निकट मानिन्थे । रोबर्टको निधनपछि राष्ट्रपति ट्रम्पले दुखी हुँदै भनेका छन्, ‘मेरो भाइको शनिबार निधन भयो । उनी मेरो भाइमात्रै नभएर नजिकको साथी थिए । म उनलाई धेरै सम्झिनेछु । हामी फेरि भेट हुनेछौं । उनको सम्झना मेरो मनमा सधैं जीवित रहनेछन् ।’

ट्रम्प भाइलाई भेट्न शनिवार न्यूयोर्कस्थित एक अस्पतालमा पुगेका थिए । त्यहाँबाट निस्किएपछि ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘उ निकै अप्ठ्यारो परिस्थितिसँग जुँध्दैछ ।’ न्यूयोर्क पोस्टका अनुसार, रोबर्टले जुनमा म्यानहट्टनस्थित माउन्ट सिनाई अस्पतालको विशेष वार्डमा उपचार गराएका थिए । ७१ वर्षका रोबर्ट केही समयदेखि बिरामी थिए ।

यद्यपि उनलाई के रोग लागेको थियो भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन । जुन महिनामा राष्ट्रपति ट्रम्पकी भतिजी मेरिलियाको एउटा पुस्तक बजारमा आएको थियो । उक्त पुस्तकमा राष्ट्रपति र उनको परिवारका विषयमा केही विवादित विषय उल्लेख गरिएको थियो । रोबर्टले यो पुस्तकलाई प्रतिबन्ध लगाउन अदालतमा अपील गरेका थिए ।

यद्यपि अदालतले उनको अपीललाई खारेज गरेको थियो । रोबर्ट ट्रम्पले आफ्नो करियरको सुरुवात वाल स्ट्रीटमा कर्पोरेट फाइनान्सिङ जोडिएका कामबाट गरेका थिए । रोबर्ट ट्रम्प डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापन गर्थे । यो कम्पनीका कयौं ठूला ओहोदामा उनले काम गरेका थिए । उनी रियल स्टेट व्यापारमा आउने ट्रम्प परिवारका सबैभन्दा कम उमेरका सदस्य थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतवार १२:४७