बाँके । नेपाली नारीहरुको महान चाड तीजको ऐतिहासिक मौलिकपन दिनप्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाहरुले तीज पर्वलाई पवित्र पर्वको रुपमा मनाउदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुको गुनासो छ ।
नेपालगन्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफुले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्छिन्, ‘म सानो छँदा गाउघरमा मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ ।’
विगतका दिनमा गाउघरमा सबै महिला दिदीबहिनी एकै ठाउमा जम्मा भई दुखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाई छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै उनी भन्छिन्, ‘आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृंखल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’
दिनप्रतिदिन परम्परागत संस्कार र संस्कृति अनुसारको नेपाली मौलिकपन नहु“दा मनकुमारी मात्र होइन नयाँ पिढीका महिलाहरु पनि चिन्तित छन् । कोहलपुरकै छाँया खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दावी गर्छिन् । छाँयाले भनिन्, ‘तीज वर्षभरिको दुखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।’
नेपालगन्ज उपमहानगरपालिका–१ की अनिता बोहोरा पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीहरुको भावनालाई ठेस पुर्याउने खालका उच्छृखंल गीतको नियन्त्रण गर्नुपर्ने बताउँछिन् । चाडपर्व, संस्कृति र पहिचानलाई बचाई राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खा“ँचो छ,’ उनले भनिन् ।
बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ । उनी भन्छन्, ‘तीजजस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक विदा दिनसके सबै परिवार बसेर पर्व मनाउनुको रौनक बैग्लै हुन्छ ।’ महिला दिदीबहिनीहरुले आफ्नै भेषभुषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ ।
परम्परादेखि नेपाली नारीहरुले तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकोले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । बाँके बनकटवाकी सुनिता थापा पनि तीज पर्व महिला दिदीबहिनीहरुका लागि दुःख बिसाउने पर्व भएको बताउँछिन् । उनका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।
उनी भन्छिन्, ‘तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोली अर्को घरमा तीजको नाचगान गरेर मनाउथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने सिरियलप्रति आकर्षित भएका छन् ।’
बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताउँछिन् । तीज मनाउन महिलाहरुले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उनको तर्क छ । ‘महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने सरिताको धारणा छ ।
उनी भन्छिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाहरुले भोग्नु परेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।’
तीजमा विवाहिता महिलाहरु राता साडी र रातै चुडामा सजिएर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहिता महिलाहरु राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउँछिन्, बाँके चिसापानीकी पवित्रा परियार ।
उनी भन्छिन्, ‘आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नुहुँदैन ।’ पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताइन् ।
तीजका गीतमा कोरोनाको प्रभाव
रातो सारी पहिरिएर सुखदुखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुखदुख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ । यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९)ले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ ।
त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।
तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ । यस्तै तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किँन थालेका छन् । कोभिड–१९ को महामारीको बीचमा समेत सर्जकले चेतनामूलक र सन्देशमूलक तीजका नयाँ–नयाँ गीत सार्वजनिक गरेका छन् ।
गीतमध्ये कतिपय विवादित भए भने कतिले श्रोता, दर्शकको माया पनि पाएको देखिन्छ । गायक दुर्गेश थापाको तीज गीत बेसार, बीचबीचमा–३ ले श्रोताको मन जित्न सफल भएको छ । गायिका प्रीति आलेले गाएको लरिलै बरिलै… बोलको तीज गीत युट्युबमार्फत सार्वजनिक भएको एक महिनामै ३७ लाखभन्दा बढीले हेरिसकेका छन् ।
टिकटक तथा सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । तर, गायिका सोफिया थापाको ‘अबको तीज नो व्रत प्लिज’ गीतले चर्चा, विरोध र अवरोध पायो । धार्मिक आस्थामा चोट पर्न गएको भन्दै विरोध भएपछि हटेको पनि छ । ‘तीजमा निराहार व्रत बस्नुपर्छ भन्ने छैन, त्यसैले यो गीत गाएको हो, कसैको भावनामा चोट पुुर्याउने उद्देश्य होइन,’ गायिका थापा भनिन् ।
वरिष्ठ गायिका मीरा राणाले हिजो माइती घर, धार्मिक स्थल तथा पधेँरो, चौतारोमा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको बताइन् । परम्परागत वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्न थालेका छन् । गायिका राणा हिजो–आज तीजकै नाममा भड्काउ गीत थुप्रै बनेका छन् ।
‘कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ,’ गायिका राणाले भनिन्, ‘यस्ता गीतले तीजको मर्म मारेको छ ।’
उहिले विरह, अहिले मनोरञ्जन
विगतका तीजका गीत अब स्मरणमा मात्रै रहने अवस्था देखिएको छ । विगतका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै तीज गएकोजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् । यो पटक त कोरोनाको प्रभावले पनि गीतलाई छोएको छ ।
विगतमा हरिदेवी कोइराला, बिमाकुमारी दुरा, देवी घर्तीले गाएका मौलिक सांस्कृतिक गीत निकै चलेका थिए तर हिजोआज तामसी प्रवृत्तिका गीत बढी देखिन्छन् । लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ लगायतले गाएका सांस्कृतिक गीत खुबै चल्थे । गीतकार डा.कृष्णहरि बराल तीजका गीतमा समय र सहरीकरणसँगै परिवर्तन आएको र यसलाई विकृति भन्न नमिल्ने बताँछन् ।
सत्यपाटी ।