बीबीसी । केही समय अगाडि गरिएको एक रिसर्चपछि कोभिड–१९ लकडाउनका बेलामा पुरुषहरुले तुलनात्मक रुपमा अरु समयमा भन्दा घरका कामहरुमा बढी नै संलग्नता जनाएको संकलित डाटाले देखाएको छ । तर के यो तथ्याङ्क पुरुष प्रधान परिवारमा लैङ्गिक समानता बढिरहेको भन्न पर्याप्त छ भनेर धेरैले प्रश्न गरेका छन् ।
जस्तै दिल्लीमा अवस्थित छालाका विशेषज्ञ, डाक्टर राहुल नगरका अनुसार उनको घरमा सधैँ कसले के काम गर्ने भन्ने स्पष्टसँग विभाजित गरिँदै आएको छ । जहाँ उनकी पत्नी पनि एक डाक्टर हुन् तर घरमा पकाउने, बच्चाको ख्याल राख्नेलगायतका काम उनैले गर्छिन् जुन मध्यम वर्गका भारतीय परिवारमा सामान्य कुरा हो ।
यसमा उनीहरुले भाँडा माझ्न अनि लुगा धुन चाहिँ काम गर्ने मान्छे राख्ने गरेको डाक्टर राहुल बताउँछन् । तर कोभिड–१९ संक्रमण बढ्दै गएपछि भारतभर कडा लकडाउन जारी भयो जसकका कारण घरेलु कामदारहरु काममा आउन नसक्ने भए । उनी भन्छन्, ‘लकडाउन अगाडि मेरी पत्नीले गर्ने प्रत्येक पाँच घण्टाको काममा मैले एक घण्टा जति सघाउने गर्दथेँ । तर महामारी सुरु भएपछि अचानक सबै कुरा बदलिएको छ ।’
उनले थप भने, ‘लकडाउनको पहिलो दुई महिना त हामीले घरका सबै काम आधा आधा बाड्यौँ । विशेषगरी मेरी पत्नी सरकारी डाक्टर भएकाले पनि उनी प्रायः घर बाहिर बसेर काम गर्नुपर्ने अवस्था आयो । त्यसैले म घरैमा बसेँ र सबै कामहरु गरेँ । मैले छोराछोरीको ख्याल राख्ने, तिनलाई अनलाइन क्लासमा बसाएर पढाउने, नुहाइदिने, खुवाउने लगायत सबै गरेँ । लकडाउन भरि मैले भुईँ पुस्नेदेखि पकाउने सम्म प्रयास गरेको हुँ ।’
अहिले भने लकडाउन केही खुकुलो भएकाले घरका सहयोगीहरु आउन थालेको र आफू पनि हप्तामा केही दिन क्लिनक जान सुरु गरेको उनी बताउँछन् । तरपनि छोरालाई दुई घण्टा लामो अनलाइन क्लासमा दैनिक बसाएर पढाउने काम चाहिँ आफैँ जिम्मा लिएको उनले बताए । उनले हाँस्दै भने, ‘अहिले म र मेरी पत्नी दुवैले घरका काम र बच्चाको रेखदेखमा उत्तिकै समय बिताइरहेका छौँ ।’
यसरी डाक्टर राहुलमात्र नभएर लकडाउनको पहिलो महिना अप्रिलमा अधिकतम पुरुषहरु पहिलेको तुलनामा घरको काममा बढी संलग्न भएको डाटाले देखाएको छ । सो रिपोर्ट ‘सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी’, सीएमआइइ एक स्वतन्त्र ‘थिङ्क ट्याङ्क’ले पेश गरेको हो । विश्वका अन्य पुरुष प्रधान देश जसरी नै भारतमा पनि बिना पारिश्रमिक घर र बालबच्चाको रेखदेख गर्ने जिम्मा प्रायः महिलाहरुले नै उठाइरहेका हुन्छन् ।
जस्तै अन्तर्राष्ट्रिय श्रमिक संगठनको २०१८ को रिपोर्ट अनुसार भारतका शहरी क्षेत्रमा महिलाहरुले दैनिक ३१२ मिनेट समय घरको काममा बिताउने गरेका थिए जबकी पुरुषहरुले चाहिँ यसलाई ३० मिनेट पनि नदिने गरेको पाइएको हो । ग्रामीण भेगमा चजे महिलाले अझ बढी, झन्डै दैनिक २९१ मिनेट र पुरुषले चाहिँ केबल ३२ मिनेट घरको कामलाई समय दिने गरेको पाइएको थियो ।
तर यस किसिमको लैङ्गिक विभेदलाई लकडाउनले धेरै हद्सम्म कम गराएको रिपोर्टले देखाउँछ जहाँ परिवारका सदस्य एकैठाउँ घर भित्रै बस्न बाध्य भएका हुन् । थोरै परिवारमा मात्र डिशवासर, भ्याकुम क्लिनर र वासिङ मसिन हुने हुँदा प्रायः परिवारहरुमा घरका काम गर्नका लागि सहयोगी राख्ने चलन रहेको छ । तर लकडाउनमा उनीहरु काम गर्न जान नसक्ने भएपछि धेरै महिलाहरुले कामको बोझ बढेको गुनासो गरिरहेका थिए ।
यस अध्ययनका लागि ४३ हजार नागरिकहरुको अन्तरवार्ता लिएर डाटा संकलन गरिएको हो । यसमा ६३ प्रतिशत शहरी क्षेत्रबाट रहेका थिए भने ३६.८ प्रतिशत ग्रामीण क्षेत्रमा बसोबास गर्दथे, त्यस्तै ४६ प्रतिशत सहभागी महिला र ५३ प्रतिशत पुरुष थिए । तिनमा किसानदेखि, दैनिक ज्यालादारी गर्ने श्रमिक र मध्यम वर्गका पारिश्रमिक लिने सबैले सहभागिता जनाएका हुन् ।
यसरी लकडाउनको यो डाटाले धेरै परिवारलाई घरका काम महिला र पुरुषबीच समान रुपमा विभाजित गर्न सकिने सम्बन्धी नयाँ आशा दिलाएको छ । विगतमा पनि कतिपय संकटले समाजमा दीर्घकालीन ऐतिहासिक बदलाव ल्याएको थुप्रै उदाहरण भएको हुँदा यो विषयमा आशावादी रहनु गलत नभएको बताइएको छ ।
सत्यपाटी ।