सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोना संक्रमित संख्या ६९६ पुग्यो

बाँके । बाँकेमा आज शुक्रबार ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बाँके र बर्दिया लगायतको ७०० स्वाब परीक्षण गर्दा यी ब्यक्तिहरुमो कोरोना पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणको रिर्पोट अनुसार बाँकेका ११ र बर्दिया जिल्लाका १२ जना गरि २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कुल संक्रमितको संख्या ६९६ पुगेको छ ।

बाँकेमा हालसम्म ४३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ । यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो पटक बाँके र बर्दियामा कोरोना भाइरस संक्रमण बढेपछि उच्च सर्तकता अपनाइएको छ ।

बाँके प्रशासनले गत साउन १८ गते आइतबारदेखि लगाएको निषेधाज्ञा आज रातीबाट हटाएको छ भने बर्दियाले ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैक लिमिटेड सिल गरिएको छ । ती बैंकका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंकहरु सिल गरिएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १७:०९