काठमाडौं । केटोलाई आमाले नपुगेर लुकिछिपी छोरी ताक्ने, आमाचाहिँ ट्याक्सी चढेर डुलिरहने ! ५० लाखको हिसाब पनि छोरीसँगको सम्बन्धका नाममा तिर्न नखोज्ने भएपछि मान्छे काटेर फ्याँक्ने ! टोखा–१०, गोंगबुस्थित नवज्योति मार्गको विभत्स हत्याकाण्डको मूल कारण हो यो ।
आइतबार (साउन २५) बिहान नवज्योति मार्गमै दाङका कृष्णबहादुर बोहोराको शवको ९० प्रतिशत भाग सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टाचाहिँ ३०० मीटर पूर्वाेउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली ठाउँमा भेटियो ।
अघिल्लो रात कृष्णबहादुरलाई आफ्नै डेरामा काटकुट पारी झोलामा पोको पार्ने महिला कल्पना मुडभरी (पौडेल) र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा एम्बुलेन्स चढेर चितवनतिर भागे । राति रुस्लान भोड्कामा सितनस्वरूप मासु र दहीच्युरामात्रै खुवाइनन्, पाँचवटा स्लिपिङ ट्याब्लेट पनि हालिदिइन् ।
कृष्णबहादुरले होस् गुमाए, नगुमाएको पत्ता लगाउन हम्मरले अण्डकोषमा बेस्सरी हिर्काइन् । तर, चालचुल नभएपछि घाँटी र खुट्टा रेटेर एकातिर, बाँकी शरीर अर्कातिर पोको पारिन् । सोमबार चितवनबाट पक्राउ पर्नासाथ कल्पनाले आफू र छोरी मिलेर यस्तो काम गरेको बताए पनि उनीसँग नियमित सम्पर्कमा रहेका एम्बुलेन्स ड्राइभरको पनि यसमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विवाहेत्तर सम्बन्ध
मृतक कृष्णबहादुर र अभियुक्त कल्पना दुबै विवाहित हुन् । कृष्णबहादुरकी पत्नी भारतको दिल्लीमा र कल्पनाका पति दुबईमा रोजगारी गर्छन् । कृष्णबहादुर नयाँबजारस्थित एसआई मल्टिपर्पस नामक कपडाको होलसेलबाट सामान लिएर गोंगबु, नयाँबसपार्कतिर सप्लाईको काम गर्थे ।
आफ्नै कोठा थिएन, गोंगबुकै एक गेष्ट हाउसमा महिनावारी भाडा तिरेर बस्थे । तर, बढीजसो रात कल्पनाकै कोठामा बिताउँथे । यस्तो क्रम दुई वर्षदेखिको हो । कल्पनाचाहिँ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य सिरियल ‘हर्के हवल्दार’मा कहिलेकाँही छोटो भूमिकामा खेल्ने गर्थिन् । उनको विभिन्न ट्याक्सीका ड्राइभरहरूसँग बढी हिमचिम हुन्थ्यो ।
प्रायः ट्याक्सीमा रातको समय कोठा पुग्थिन् । बिहानचाहिँ कृष्णबहादुरले स्कुटीमा हालेर विभिन्न ठाउँमा पुर्याउने गर्थे । तर, जतिबेला पनि बाहिरै व्यस्त हुने उनी के काम गर्थिन् भन्नेबारे छरछिमेकले यकिनसाथ बताएका छैनन् । प्रहरीले घटनापछि कृष्णबहादुरको स्कुटी बरामद गरेको छ ।
पैसा र छोरी
पछिल्ला दिनमा पैसा र छोरीको कुरालाई लिएर कृष्णबहादुरसँग झगडा पर्ने गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् । सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी उनले हिजो मंगलबारदेखि बयान फेरेकी छन् । उनको पहिलो बयान घटनासँग बाझ्ने खालको थियो ।
किनभने, उनले स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश किनेकी छन्, हातखुट्टा बाँध्न प्लाष्टिकको झोला किनिन्, हम्मर र चक्कु राखिएको छ । यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि बल्ल कुरा खोलिन्, ५० लाखको । कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् ।
उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।
यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आमा धेरैजसो बाहिरबाहिरै हुने, कृष्णबहादुरचाहिँ काम सकेपछि गोंगबुतिरै हुने । कोठामा हेर्थे, आमा–छोरीमध्ये जो भए पनि पुगिहाल्थे ।
छोरीमाथि गलत नियतले सम्बन्ध राख्न खोजेपछि उनी प्रतिवाद गर्थिन् । राति आमा आएपछि छोरीले सुनाउने गरेकी थिइन् । यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।
संलग्न अरू नै
कृष्णबहादुर हत्या अभियोगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्राउ परेका छन् । तर, यसमा संलग्न अरू व्यक्ति पनि हुनुपर्ने प्रहरीको अनुमान छ । आमा–छोरीमात्रै भएर मान्छे मार्ने, झोलामा प्याक गर्ने र खुला ठाउँमा लगेर फ्याँक्नेजस्ता काम सम्पन्न भएकोमा प्रहरीको शंका छ ।
पक्राउ परेका एम्बुलेन्स ड्राइभरले कल्पनासँगको सम्बन्ध स्विकारेका छन् । तर, घटनामा संलग्नताबारे स्वीकारेका छैनन् । शनिबार राति कृष्णबहादुरलाई काटकुट गरी आइतबार बिहानै झोलामा हालेर फ्याँकेपछि एम्बुलेन्स लिएर चालक उनीहरू बस्ने टोलमै पुगेका थिए ।
#जन आस्थाबाट
सत्यपाटी ।