सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारले फेसबुकमा स्टाटस लेखेपछि शौचालयको समस्या समाधान

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको डाइलोसिस युनिटमा उपचारका लागि पुग्ने विरामीहरुलाई शौच गर्नका लागि समस्या थियो । दिशापिसाब गर्न शौचालय खोज्दै निकैबेर यताउता दौडिनुपर्ने बाध्यता थियो ।

शौचालय भेटिए पनि लाइनमा बस्नुपर्ने हुँदा थप समस्या झेल्नुपर्दथ्यो । डाइलोसिस युनिटमा भएको शौचालय सधैं बन्द हुँदा प्रयोग गर्न सकिने अवस्था थिए । अब भने डाइलोसिस युनिटमा भएको शौचालय प्रयोगमा आउने भएको छ ।

पत्रकार कमल न्यौपानेले शुक्रबार विहान भेरी अस्पतालको डाइलोसिस युनिटमा रहेको शौचालय बन्द हुने गरेको र विरामीहरुलाई शौच गर्न समस्या भएको सामाजिक आशयसहितको फेसबुक स्टाटस राखेपछि अस्पतालले शौचालयका बारेमा चासो देखाएको हो ।

अस्पतालले चासो देखाएसँगै डायलोसिस युनिटमा देखिएको शौचालयको समस्या तत्कालका लागि समाधान भएको छ । यहाँ उपचार डायलोसिसका लागि विरामीहरुका लागि शौचालय प्रयोगमा सहजता आउने भएको छ ।

पत्रकार न्यौपानेले आफ्नो फेसबुकलमा स्टाटस राखेको दुई घण्टा नवित्दै आइसीयु डायलोसिस सुपरभाइजर तथा नर्सिङ्ग अधिकृत ईश्वरी केसीको सक्रियतामा शौचालयको समस्या समाधान भएको छ । उनकाअनुसार तत्कालका लागि आइसीयुमा रहेको शौचालय प्रयोगमा आउनेछ ।

शौचालयको समस्यालाई दीर्घकालिनरुपमा समाधानका लागि प्रयास भइरहेको सुपरभाइजर ईश्वरी केसीले बताइन् । ‘शौचालय अभावमा समस्या थियो, अब सजिलो हुने भयो,’ डायलोसिसका एक जना विरामीले भने ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा यस्ता थुप्रै समस्या रहेकोले ती समस्या समाधानका लागि सबै लाग्नुपर्ने बताए । उनले भने ‘समाचार होस् वा स्टाटस होस् समस्या समाधानका लागि लाग्नुपर्छ ।’ अध्यक्ष धितालले यहाँका सबैखाले समस्या समाधान हुँदै जाने पनि बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १२:२३