सूचनाको शक्ति - The Power Of Information

        

तीन घर पहिरोले पुर्‍यो, ३० परिवार उच्च जोखिममा

फाइल तस्वीर

सल्यान । लगातारको वर्षाले सल्यानको दार्मा गाउँपालिकामा करोडौँको क्षति पुगेको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका छन् भने ३० घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

वर्षासँंगै आएको पहिरोले दार्मा ६ का टीके कामी र विमला बुढाथोकी तथा वडा नम्बर ४ का निराजन विकको घर बगाएको छ । पहिरोले घर बगाउँदा तीन परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

बाढी र पहिरोको कारण ग्रामीण सडक र विद्यालयमा समेत क्षति पुगेको छ । ‘अहिले पनि सल्यानमा वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सतर्क गराइएको छ,’ अध्यक्ष केसीले भने । दार्मा गाउँपालिकाका नौ घर तथा तीन विद्यालयमा समेत पहिरोले क्षति पुर्याएको केसीले बताए ।

‘पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन । तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन,’ उनले भने । पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् ।

पहिरोका कारण विस्थापित परिवारलाई गाउँपालिकाले आपत्कालीन राहत वितरण गरेको छ । ‘हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ,’ अध्यक्ष केसीले भने ।

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पुर्याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन सक्ने अवस्था छैन । पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिका क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् ।

गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने केसीले बताए । वर्षाले ठाउँठाउँमा पहिरो गएको र वर्षातका कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने उनको भनाई छ । रासस

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ११:३१